किन बिक्दैछन् ईभी ? चीनले पाउँदैछ ठूलो लाभ

काठमाडौं । विश्वभर इन्धनको मूल्यमा उतार चढाव आइरहेको छ । पेट्रोलियम पदार्थको मूल्य शक्ति राष्ट्रहरूको लडाइँमा भरपर्दै जाँदा वैकल्पिक ऊर्जाको विषयले चर्चा पाउनु स्वभाविक हो ।

रसिया-युक्रेन युद्धदेखि नै पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेको थियो । त्यसलाई पछिल्लो दिनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प सत्तामा फर्केसँगै भेनेजुयला र इरानसँगको द्धन्द्धले थप बलियो बनायो । जसका कारण अन्तर्राष्ट्रिय बजारमा ईभीको माग उच्च बन्यो ।

इरान-इजरायल-अमेरिका तनावका कारण अन्तर्राष्ट्रिय तेल बजार अस्थिर बन्दै जाँदा पेट्रोल र डिजेलमा निर्भर सवारीभन्दा ईभीलाई धेरै उपभोक्ताले किफायती विकल्पका रूपमा हेर्न थाले ।

केही वर्ष अगाडिसम्म वातावरण संरक्षणका लागि मात्रै रोजिने ईभी अहिले सञ्चालन खर्च बचाउने माध्यमका रूपमा लोकप्रिय बन्यो । अझ हाम्रो नेपाल जस्तो देशको लागि ईभी वरदान नै भए ।

ब्याट्री प्रविधिमा आएको सुधार र रिकन्डिसन बजारमा सस्तो मूल्यमा नै ईभी उपलब्ध भएसँगै संसारभरका उपभोक्ताले ईभी रोज्न थालेको ब्लुम्बर्गले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

युरोप र चीनमा पेट्रोल कारभन्दा धेरै ईभी बिक्री

युरोपका धेरै देशमा ईभीको माग उल्लेख्य रूपमा बढिरहेको छ । जर्मनीमा सन् २०२६ को पहिलो क्वाटरपछि नयाँ दर्ता भएका विद्युतीय कारको संख्या पेट्रोल कारभन्दा बढी छ । विश्वकै ठूलो कार बजार चीनमा पनि ईभीको दर्ता धेरै छ ।

युरोपका केही देश र नेपाल जस्ता देशमा ८० प्रतिशत हाराहारी ईभी बिक्री हुन थालेको छ । यसले पेट्रोलमा परनिर्भर देशहरू ईभी तिर आकर्षित हुँदै गएको प्रस्ट हुन्छ ।

पेट्रोलियम पदार्थमा परनिर्भर देशहरूले विद्युतीय साधनमा प्रोत्साहन कार्यक्रम संचालन गरिरहेका छन् ।

अमेरिकाले कर छुट हटाए पनि बढ्दै आकर्षण

अमेरिकामा सरकारले ईभी खरिदमा दिँदै आएको कर छुट हटाएपछि नयाँ ईभीको बिक्री केही सुस्त भएको थियो । तर, कच्चा तेलको मूल्य बढ्दै जाँदा ईभीको बिक्री क्रमिक रूपमा बढ्दै गएको छ । अर्कोतर्फ अमेरिकामा सेकेण्ड ह्याण्ड बजारमा ईभी कम मूल्यमा उपलब्ध हुँदा उपभोक्ताको चासो फेरि बढ्न थालेको विश्लेषकहरू बताउँछन् ।

सबैभन्दा ठूलो फाइदा चीनलाई

विश्वभर ईभीको माग बढ्दा यसको सबैभन्दा ठूलो लाभ चीनले लिन सक्ने देखिएको छ । अहिले विश्वमा उत्पादन हुने आधाभन्दा बढी विद्युतीय सवारी चीनमै उत्पादन हुन्छ ।

यसका साथै ब्याट्री उत्पादन र रेयर-अर्थ खनिज आपूर्ति श्रृंखलामा पनि चीनको बलियो पकड छ । यही कारण चिनियाँ अटो कम्पनीहरूले उत्पादन लागत कम राख्दै ठूलो परिमाणमा ईभी निर्यात गर्न सकिरहेका छन् ।

युरोपका लागि चिनियाँ ईभीले कम मूल्यमा विद्युतीय सवारी उपलब्ध गराएर हरित यातायातको लक्ष्य हासिल गर्न सहयोग पुर्याउन सक्छ । तर अर्कोतर्फ, सस्तो चिनियाँ आयातका कारण युरोपेली अटो उद्योगमाथि दबाब बढ्ने चिन्ता पनि उत्तिकै छ ।

भू-राजनीतिसँग जोडिँदै ईभीको भविष्य

ऊर्जा बजारको अस्थिरता, अन्तर्राष्ट्रिय व्यापार नीति र औद्योगिक प्रतिस्पर्धाले अब विद्युतीय सवारीको भविष्य निर्धारण गर्न थालेको छ । यसले विश्व अटो उद्योगलाई नयाँ मोडमा पुर्याउने संकेत देखिएको छ ।

विशेषगरी तेलको मूल्य उच्च रहिरहने अवस्था बनेमा ईभीको विश्वव्यापी माग अझ तीव्र हुने र त्यसबाट चिनियाँ अटो निर्माता तथा ब्याट्री उद्योगले सबैभन्दा धेरै लाभ लिन सक्ने विश्लेषण गरिएको छ ।


Back_to_top