काठमाडौं । नेपाली बजारमा चाँडै टीभीएसको दोस्रो इलेक्ट्रीक स्कुटर अर्बिटर बिक्री सुरू हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अर्बिटर इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी थालेको हो ।
कम्पनीका अनुसार हाल अर्बिटर इलेक्ट्रीक स्कुटर नेपालका विभिन्न सडकमा परीक्षण भइरहेको छ । परीक्षण सकी चाँडै सार्वजनिक गर्ने तयारी भइहरेको कम्पनी स्रोतले जानकारी दियो ।
हालसम्म कम्पनीले अर्बिटर स्कुटर लन्च गर्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, आगामी साउनमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुन सक्ने सम्भावना छ ।
टीभीएस अर्बिटर भारतमा १.८ किलोवाट आवर र ३.१ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा बिक्री भइरहेको छ । नेपाली बजारमा दुवै भेरियन्ट आउँछ वा एउटा मात्रै आउँछ भन्ने बारे हालसम्म कम्पनीले खुलाएको छैन ।

टीभीएसको अर्बिटर १.८ किलोवाट आवर ब्याट्रीप्याक भेरियन्टले सिंगल चार्जमा ८६ किलोमिटर र ३.१ किलोवाट आवर भेरियन्टले १५८ किलोमिटरसम्मको आइडीसी रेन्छ प्रदान गर्ने छ । स्कुटरमा दिइएको आइपी ६७ रेटेड ब्याट्रीलाई फुलचार्ज हुन करिब २ घण्टा २० मिनेट र ४ घण्टा १० मिनेट समय लाग्छ ।
स्कुटरमा २.५ किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ । यसको टप स्पीड क्षमता ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
अर्बिटरमा टीभीएस कनेक्ट एप सहितको कलरफुल एलसीडी डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट, यूएसबी पोर्ट लगायतका फिचरहरू छन् ।
साथै, १६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको स्कुटरमा पूरा फ्ल्याट सिट, अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस, ट्युबलेस टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सक सेटअप दिइएको छ ।
हाल नेपाली बजारमा टीभीएसको आइक्यूब इलेक्ट्रीक स्कुटर बिक्री हुँदै आएको छ । अर्बिटर आएसँगै ग्राहकले थप विकल्प पाउने छन् ।


