काठमाडौं । अब सार्वजनिक सवारी साधनको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधन खरिद गर्न बैंक तथा वित्तीय संस्थाबाट ८० प्रतिशतसम्म ऋण पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ८० प्रतिशतसम्म कायम गरिएको हो । अर्थात् अब विद्युतीय सार्वजनिक सवारी साधन खरिद गर्दा ८० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइने छ । सुरूमा २० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे पुग्नेछ । यसअघि ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने व्यवस्था थियो ।
त्यस्तै, जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न नयाँ खरिद गर्दा पनि ८० प्रतिशतसम्म कर्जा पाउने छन् ।
‘खण्ड अ मा जुनसुकै कुरा लेखिएको भएतापनि सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंक निजी सवारीको हकमा भने कुनै व्यवस्था गरेको छैन । निजी सवारी साधन खरिदका लागि लोन टु भ्यालू रेसियो ६० प्रतिशत कायमै राखेको छ । अर्थात् कुनै पनि सवारी किन्दा ६० प्रतिशतसम्म मात्रै ऋण पाइन्छ । ग्राहकले सुरूमा ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनुपर्ने छ ।


