काठमाडौं । हिरो मोटोकर्पले भारतको इलेक्ट्रीक दुईपाँग्रे निर्माता एथर इनर्जीमा १ हजार करोड (१० अर्ब) भारतीय रुपैयाँ लगानी गर्ने भएको छ ।
पेट्रोल सेग्मेन्टमा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादनको पहिलो स्थानमा रहेको भारतीय दुईपाँग्रे कम्पनी हिरोले एथरमा थप १ हजार करोड भारु लगानी थप्ने भएको हो ।
हिरो मोटोकर्पले सन् २०१६ मा एथरको स्वामित्व किनेको थियो । हाल कम्पनीको एथरमा पूर्ण डाइल्युटेड आधारमा २९.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ । एथर इलेक्ट्रीकमा हिरो सबैभन्दा ठूलो सेयर स्वामित्व भएको कम्पनी हो ।
एथरले आफ्नो नयाँ मास मार्केट इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेका बेला हिरोले थप लगानीको घोषणा गरेको हो । कम्पनीले नियामक निकाय तथा सेयरधनीबाट आवश्यक स्वीकृति प्राप्त भएपछि प्रिफरेन्सियल अलटमेन्टमार्फत इक्विटी सेयर वा इक्विटीसँग सम्बन्धित परिवर्तनीय धितोपत्र जारी गरी उक्त लगानी गर्ने जनाएको छ । सबै स्वीकृति प्राप्त भएको १५ दिनभित्र लगानी प्रक्रिया पूरा हुने रिपोर्टमा उल्लेख छ ।
हिरोको थप लगानीसँगै एथरले आगामी दिनमा नयाँ उत्पादन विस्तार, प्रविधि विकास र दिगो ब्याट्री व्यवस्थापनमा थप गति लिने अपेक्षा गरिएको छ । यो लगानी एथरका लागि निकै महत्वपूर्ण समयमा आएको छ । कम्पनीले आगामी अगस्ट २९ मा आयोजना हुने कम्युनिटी डे २०२६ मा आफ्नो नयाँ ईएल प्लेटफर्ममा आधारित पहिलो मास मार्केट इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।
एथरको नयाँ ईएल प्लेटफर्म उत्पादन क्षमता विस्तार, लागत व्यवस्थापन र विभिन्न सेग्मेन्टका उत्पादन विकासलाई ध्यानमा राखेर तयार गरिएको बताइएको छ । यसले एथरलाई प्रिमियम सेग्मेन्टबाट थप ठूलो बजारमा प्रवेश गर्न सहयोग पुग्ने छ ।


