काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपाली कार बजारमा इलेक्ट्रीक मोडलहरूको बाढी नै आयोभन्दा फरक पर्दैन । उक्त बाढीमा देशकै सर्वाधिक बिक्री हुने ब्राण्ड बीवाइडीले तीन मोडल एक साथ बजारमा ल्यायो ।
बीवाइडीले नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो मार्फत बिक्री सुरू गरेको एटो वान र एटो टु गत आर्थिक वर्षको सर्वाधिक सफल मोडल बन्न पुग्यो । यी दुई मोडल मिलाएर बीवाइडीले ३ हजार ५६३ युनिट आयात गरेको हो ।
कम्पनीको सर्वाधिक सफल मोडल बन्ने बाटोमा देखिएको एटो टु को आयात २ हजार २६४ युनिट पुगेको छ । एक वर्षभन्दा कम समयमा नै बीवाइडीले २ हजार २६४ युनिट एटो टु ल्याएको हिसाबले नै यसको सफलता प्रस्ट हुन्छ ।
अर्को इन्ट्री लेभल मोडल एटो वान पनि नेपालमा सफल मोडल मोडल बनेको छ । साइजमा सानो भएपनि यसले बजारमा तहल्का मच्चायो भन्न मिल्छ । पहिलो वर्ष नै एटो वान को आयात १ हजार ३०० युनिट भयो । यसले बजारमा आफ्नो अलग पहिचान बनायो ।
यी दुई मोडलले आफ्नो अलग पहिचान मात्रै बनाएन । साइमेक्सको वार्षिक बिक्री लक्ष्यलाई पनि निकै सहज बनाइदियो । एटो थ्री र डल्फिनको घट्दो बिक्रीका बीच बजारमा आएको यी दुई मोडलले उपभोक्ताको मन जित्न सफल भयो ।

बजारमा आएको केही महिनामै यी दुई मोडलप्रति देखिएको उपभोक्ता आकर्षणलाई नेपाली ईभी बजारमा बीवाइडीको बलियो ब्राण्ड छवि, मूल्य, उत्पादनको व्यावहारिकता र बिक्रीपछिको सेवासँग जोडेर हेर्न थालिएको छ ।
बजार जानकारहरूका अनुसार यी दुई मोडल सफल हुनुको पहिलो कारण बीवाइडी प्रतिको उपभोक्ता विश्वास हो । नेपालमा एटो थ्री र डल्फिनजस्ता मोडलमार्फत बीवाइडीले पहिले नै आफ्नो बजार आधार तयार गरिसकेको थियो । त्यसैले नयाँ मोडल बजारमा आउँदा ग्राहकलाई ब्राण्डको ब्याट्री प्रविधि, विश्वसनीयता र पुनःबिक्री मूल्यबारे तुलनात्मक रूपमा कम जोखिम महसुस भयो ।
दोस्रो महत्वपूर्ण पक्ष मूल्य र उत्पादन बीचको सन्तुलन हो । एटो टु लाई डल्फिन र एटो थ्री बीचको सेग्मेन्टमा राखिएको थियो । नेपाली बजारमा प्रवेश गर्दा आक्रमक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरू भएको थियो ।
कम्प्याक्ट एसयूभी खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बनेको देखियो । कुनै समय यसैगरी सुजुकी ब्रेजा र निसान म्याग्नाइट बिक्री भएका थिए ।
एटो टु मा ५१.१३ किलोवाट आवरको एलएफपी ब्याट्री, १०० किलोवाटको मोटर छ । उक्त मोटर २९० एनएम टर्क र ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । अर्को महत्वपूर्ण मानिने २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स उपयोगी पक्ष हो ।
त्यसैगरी, एटो वानले सानो र किफायती ईभी खोज्ने ग्राहकलाई लक्षित गरेको छ । काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रमा दैनिक आवतजावतका लागि सानो आकारको कारको माग यसले सम्बोधन गर्छ ।
साना कारमा नयाँ ब्राण्डको ईभी किन्दा ब्याट्री, स्पेयर पाट्र्स, सर्भिस र पुनःबिक्रीमा समस्या हुने अनुमानका आधारमा धेरैले बीवाइडी एटो वान छानेका हुन् । स्थापित ब्राण्डका साधनमा अनिश्चितता तुलनात्मक रूपमा कम हुने भएकाले बीवाइडीलाई त्यसको फाइदा पुगेको बजार विश्लेषकहरूको बुझाइ छ ।
यसरी हेर्दा, एटो वान र एटो टु को सफलता केवल सस्तो मूल्यका कारण मात्र होइन । बीवाइडीको स्थापित ब्राण्ड विश्वास, सही मूल्य निर्धारण, व्यावहारिक आकार, ब्याट्री र रेन्ज, आधुनिक फिचर तथा बिक्रीपछिको इकोसिस्टमको संयोजनले सम्भव भएको देखिन्छ ।


