काठमाडौं । नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त सडक खुलाउन चीनले तीव्र गतिमा काम गरिरहेको छ । चीन सरकारले अवरुद्ध केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्ग जी २१६ खुलाउन ठूलाे संख्यामा उद्धार तथा इन्जिनियरिङ टोली र उपकरण परिचालन गरेका हो ।
चिनियाँ सरकारी संचार माध्यम सिन्ह्वाका अनुसार आज बिहान १०ः५० बजेसम्म ग्यारोङ पहिरोबाट क्षतिग्रस्त जी २१६ राजमार्गको खण्ड ग्यारोङ सीमा नाकाबाट १ किलोमिटर सडक बनाइ सकिएको छ । अब केरुङ बन्दरगाह जोडिन् १ किलोमिटरभन्दा कम बाँकी रहेकाे बताइएकाे छ । अहिले धमाधम लेदा हटाउने र बगाएको ठाउँमा नयाँ सडक बनाउने काम भइरहेको छ ।
चिनियाँ आपत्कालीन व्यवस्थापन मन्त्रालयले परिचालन गरेको ‘चाइना एनेङ’का व्यावसायिक उद्धार टोलीले लगातार सडक पुनःस्थापनाको काम गरिरहेका छन्।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सडक निर्माण भइरहेको क्षेत्र अत्यन्त कठिन भौगोलिक अवस्थामा छ । एकातर्फ ठाडो भीर र जोखिमपूर्ण चट्टान छन् । अर्कोतर्फ तीव्र गतिमा बगिरहेको नदीका कारण सडक निर्माण कठिन भइहरेको छ । कतिपय स्थानमा सडक पूरै बगाएकालेनिर्माण स्थल समेत भेट्न कठिन छ । नदीको बहाव कतिपय ठाउँमा प्रतिसेकेण्ड ६ देखि ७ मिटरसम्म रहेको छ । यस्तो अवस्थामा ठूला मेसिन एकैपटक परिचालन गर्न नसकिएपछि उद्धार टोलीले चरणबद्ध रूपमा काम गरिरहेको छ ।
सडकको बगाएको आधार पुनःनिर्माण गर्न चिनियाँ टोलीले एकदेखि दुई मिटरसम्म व्यास भएका ठूला ढुंगा प्रयोग गरिरहेको छ । पहिले ठूला ढुंगाले सडकको किनारको आधार बलियो बनाउने र त्यसपछि माटो भरेर सडक तयार गर्ने काम भइहरेको छ ।
अत्यधिक तीव्र पानी बग्ने स्थानमा भने मेसिनलाई पानी भित्रै पठाएर वहाव मोड्ने काम भइरहेको छ । प्रतिकूल अवस्थाका यसका बाबजूद इन्जिनियर तथा कामदारहरु निरन्तर सडक निर्माणमा खटिएका छन् । अहिले सडक खुलाउन मात्रै १५८ बढी कामदार र २८ बढी उपकरण परिचालन भइरहेको छ ।
सडक निर्माणसँगै उद्धार टोलीले जोखिम व्यवस्थापनमा पनि आधुनिक प्रविधि प्रयोग गरिरहेको छ । लेजर भिडियो एआई निगरानी उपकरण, पहिरो तथा ढलान निगरानी राडार र ड्रोनमार्फत सडक आसपासका पहाड र चट्टानमा हुनसक्ने सानोभन्दा सानो परिवर्तनसमेत २४ घण्टा निगरानी भइरहेको चिनियाँ आपत्कालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
अहिले चिनियाँ टोलीको मुख्य लक्ष्य केरुङ नाकासम्मकै सडक निर्माण गर्नुरहेको छ । नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ।


