हिमालय एयरलाइन्सद्धारा काठमाडौं-सांघाई सिधा उडान सुरू

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले पुनः काठमाडौं-सांघाई-काठमाडौं नियमित उडान सुरू गरेको छ ।

एयरलाइन्सले सोमबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांघाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरू गरेको हो ।

काठमाडौंबाट सोमबार साँझ ०७:११ बजे हिमालयको उडान नम्बर एच ९७८० जहाज सांघाई उडेको थियो । उक्त जहाज चिनियाँ समय अनुसार मंगलबार बिहान २:३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । साे जहाज आज बिहान ०८:१३ त्रिभुवन विमानस्थलमा अवतरण गरेको हाे ।

एयरलाइन्सका अनुसार अब नियमित रूपमा काठमाडौं-सांघाई साताको दुई उडान हुनेछ । एयरलाइन्सले काठमाडौंबाट साताको हरेक सोमबार र शुक्रबार सांघाई उडान गर्नेछ । त्यस्तै, सांघाईबाट मंगलबार र शनिबार काठमाडौं आइपुग्नेछ ।

यात्रुको माग बढेमा थप उडान संख्या थप्न सकिने एयरलाइन्सले जनाएको छ । हिमालयले काठमाडौं-सांघाई उडान पुनः संचालनले गर्ने भएसँगै नेपाल र चीन बीचको व्यापार, पर्यटन लगायत गतिविधिमा सहज हुनेछ ।

हिमालय एअरलाइन्स नेपाल(चीन संयुक्त साझेदारीमा सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । कम्पनीसँग हाल ३२०/२१४ तीन वटा र एउटा एयरबस ३१९/११५ गरी कुल चार जहाज छन् । हिमालयले मध्यपूर्व, दक्षिण एसिया र चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ ।


Back_to_top