काठमाडौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले आफ्नो डाइनेस्टी सिरिज अन्तर्गत १ करोडौं कार उत्पादन पूरा गरेको छ । बीवाइडीले १ करोडौं कारका रूपमा ‘दा हान’ फ्ल्यागसिप सेडान रोल आउट गरेको हो ।
बीवाइडीले १३ वर्षमा यो माइलस्टोन हासिल गरेको हो । डाइनेस्टी सिरिज बीवाइडीको मुख्य लाइनअप हो । जसमा प्लग–इन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक कारहरू समावेश छन्।
यी कारहरूको नाम चीनमा शासन गरेका राजवंशहरूको नामबाट राखिएको छ । डाइनेस्टी सिरिजको पहिलो मोडलका रूपमा सन् २०१३ को अगस्टमा बीवाइडी छिन घरेलु बजारमा प्रवेश गरेको थियो। उक्त मोडलमा डीएम प्लग-इन हाइब्रिड प्रणाली प्रयोग गरिएको थियो । जसमा १३ किलोवाट आवरको एलएफपी ब्याट्री थियो। यसले एनईडीसी मापदण्डअनुसार ८२ किलोमिटर तथा डब्ल्यूएलटीपी मापदण्डअनुसार ७० किलोमिटर दूरी तय गर्न सक्थ्यो।
१३ वर्षपछि डाइनेस्टी सिरिजमा टाङ, हान, छिन, सोङ, युआन र स्या गरी ६ वटा लाइन रहेका छन्। विभिन्न मोडल वर्षसहित यस सिरिजमा २७ वटा सवारीसाधन समावेश छन्।
सेप्टेम्बर २९ मा बीवाइडीका अधिकारीहरूले डाइनेस्टी सिरिजको १ करोडौं कार उत्पादन भएको जानकारी दिएका छन्। १ करोडौं कार ‘दा हान’ फ्ल्यागसिप सेडान हो, जसलाई ‘ग्रेट हान’ नामले पनि चिनिन्छ।
बीवाइडीका अनुसार डाइनेस्टी सिरिजको कुल बिक्री सन् २०२६ को जनवरीमा ८६ लाख युनिट रहेकोमा सेम्टेम्बर आइपुग्दा बढेर करिब १ करोड युनिट पुगेको छ।

