घासा-कोरला सडक खण्ड संचालनमा आयो, पुलको एप्रोच भाेलिसम्म बन्ने

काठमाडौं । कालिगण्डकी करिडोर अन्तर्गत मालढुंगा-बेनी-कोरला सडकखण्डको घासा-कोरला खण्ड दुईतर्फी संचालनमा आएको छ ।

असोज ९ देखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध यस सडकको पहिरो हटाई दुईतर्फी सवारी सुचारु गरिएको हो ।

बाढीपहिरोका कारण मालढुंगा-कोरला सडकको विभिन्न ४६ स्थानमा अवरुद्ध भएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैशीको सचिवालयका अनुसार मालढुंगादेखि घासासम्मको खण्डमा पनि अहिले धमाधम पहिरो हटाउने, ब्याक कटिङ गर्ने र पर्खाल लगाउने काम भइरहेको छ ।

मुस्ताङ–बेनीको बीचमा विभिन्न स्थानमा काटेको कटानको ब्याककटिङ र टेवा पर्खाल लगाई भोलि बेलुकीसम्म यातायात सुचारु हुने सचिवालयले जनाएको छ ।

त्यस्तै, म्याग्दीको तातोपानी क्षेत्रमा कटान गरेको ठाउँमा पनि ब्याककटिङ र टेवा पर्खाल लगाई आज बेलुकीसम्म यातायात संचलन गरिने छ ।

त्यस्तै, पोखरेबजार पुलको एप्रोच भोलि बेलुकीसम्म निर्माण गरी यातायात सुचारु हुनेछ ।

राघुघाट हाइड्रोपावर, मालढुंगा बेनीको केराबारी क्षेत्रमा पनि कटान गरेको ठाउँमा ब्याककटिङ र टेवा पर्खाल लगाई भोलि बेलुकीसम्म यातायात सुचारु गरिने सचिवालयले जनाएको छ ।


Back_to_top