१०० भोल्ट आर्किटेक्चरमा स्कुटर र मोटरसाइकल बनाउँदै अल्ट्राभोइलेट

काठमाडौं । भारतको विद्युतीय सवारी निर्माता अल्ट्राभोइलेट अटोमोटिभले आफ्नो नयाँ दुई इलेक्ट्रीक मोटरसाइकल र स्कुटर १०० भोल्ट आर्किटेक्चरमा निर्माण गर्ने भएको छ ।

कम्पनीले नयाँ सकवेभ मोटरसाइकल र टेसेराक्ट स्कुटर १०० भोल्ट इलेक्ट्रीक प्लेटफर्ममा उत्पादन गर्ने भएको हो । यी दुवै मोडल सन् २०२७ को पहिलो त्रैमाससम्ममा भारतीय बजारमा लन्च हुने कम्पनीले जनाएको छ।

अल्ट्राभोइलेटले यी दुवै मोडललाई पहिलोपटक मार्च २०२५ मा भारतमा सार्वजनिक गर्दै २०२६ को पहिलो त्रैमासदेखि डेलिभरी गर्ने घोषणा गरेको थियो । तर, विकास प्रक्रियामा भएको परिवर्तनसँगै अब दुवै मोडलको मूल्य र लन्च टाइमलाइनमा परिवर्तन हुने भएको हो ।

कम्पनीले त्यतिबेला टेसेराक्ट स्कुटरको सुरूआती मूल्य १ लाख २० हजार भारु र सकवेभ मोटरसाइकलको मूल्य १ लाख ५० हजार भारु तोकेको थियो । अब नयाँ प्लेटफर्ममा बन्ने भएसँगै बढेर आउने भएको हो ।

अल्ट्राभोइलेटको हालको एफ७७ र एक्स४७ इलेक्ट्रीक मोटरसाइकलमा ६० भोल्ट आर्किटेक्चर प्रयोग हुँदै आएको छ । नयाँ सकवेभ र टेसेराक्ट भने १०० भोल्ट आर्किटेक्चरमा आधारित हुने भएका हुन् ।

१०० भोल्ट आर्किटेक्चर भन्नाले ईभीको ब्याट्री, मोटर, इन्भर्टर, कन्ट्रोलर तथा अन्य प्रमुख विद्युतीय प्रणालीलाई उच्च भोल्टेज प्रणालीअनुसार डिजाइन गर्नु हो ।

उही पावर उत्पादन गर्न उच्च भोल्टेज प्रयोग गर्दा आवश्यक करेन्ट कम गर्न सकिन्छ । उदाहरणका लागि १० किलोवाट पावरका लागि ६० भोल्ट प्रणालीमा करिब १६७ एम्पियर करेन्ट आवश्यक पर्न सक्छ भने १०० भोल्ट प्रणालीमा करिब १०० एम्पियर पर्याप्त हुन्छ । यसले विद्युतीय प्रणालीमा हुने ऊर्जा क्षति र ताप उत्पादन कम गर्न सहयोग गर्न सक्छ ।

यद्यपि १०० भोल्ट आर्किटेक्चर प्रयोग हुँदैमा मोटरसाइकलको रेन्ज वा गति स्वतः बढ्ने भने होइन । ब्याट्री क्षमता, मोटर, इन्भर्टर, तौल, थर्मल व्यवस्थापन र सफ्टवेयरजस्ता पक्षले पनि इभीको वास्तविक प्रदर्शनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् ।

पहिले सार्वजनिक गरिएको विवरणअनुसार टेसेरेक्टमा २०.४ एचपी मोटर र ६ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ । यसले आईडीसी परीक्षणअनुसार एकपटक चार्ज गर्दा २६१ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको थियो ।

सकवेभले १४.५ एचपी सम्मको पावर उत्पादन गर्ने बताइएको छ । यसको ब्याट्री क्षमता भने कम्पनीले अझै सार्वजनिक गरेको छैन । यसले पहिले सार्वजनिक गरिएको विवरणअनुसार १६५ किलोमिटरको आईडीसी रेन्ज दिने दाबी गरिएको थियो ।

अल्ट्राभोइलेटले यी दुवै मोडल उत्पादनको क्रममा रहेको बताएको छ । हाल दुवै मोडलका पूर्ण नयाँ स्पेसिफिकेसन र टेक फिचर तथा अन्तिम मूल्य सार्वजनिक हुन बाँकी छ ।


Back_to_top