लागत कम गर्न अवतार र दीपल ब्राण्डले खोले नयाँ कम्पनी

काठमाडौं । चिनियाँ अटो निर्माता चांगानले आफ्ना दुई न्यू इनर्जी भेहिकल ब्राण्ड अवतार र दीपलको केही काम मर्ज गर्ने भएको छ । कम्पनीले दुवै ब्राण्डलाई गाभेर ‘एडी कोलाबोरेटिभ डेभलपमेन्ट डिपार्टमेन्ट’ स्थापना गरेको चिनियाँ संचारमाध्यम ‘द पेपर’को दाबी छ ।

द पेपरका अनुसार नयाँ बनेको विभागले रिसर्च एण्ड डेभलपमेन्ट युनिट, आपूर्ति श्रृंखला, उत्पादन र प्रशासनिक काममा स्रोतको साझेदारी गर्दै अगाडि बढ्ने योजनामा कम्पनी रहेको खुलाएको छ । यसरी काम गर्दा दोहोरो लगानी हट्दै लागत २० देखि ३० प्रतिशतसम्म कम गर्ने लक्ष्य चांगानले राखेको छ ।

लागत कम गर्न गरिएको सहकार्यपछि दुवै ब्राण्डको बजार पहिचान, रणनीतिक योजना र बिक्री योजना भने स्वतन्त्र रहने कम्पनीले जनाएको छ । यसको मतलब ग्राहकसँग प्रत्यक्ष जोडिने ब्राण्डिङ तथा बिक्री पक्ष अलग रहनेछ ।

सहकार्यपछि अवतारलाई डिजाइन, उत्पादन विकास तथा प्लेटफर्म प्रविधिका लागि साझा केन्द्र स्थापना गर्ने जिम्मेवारी दिइएको छ । दीपलले भने आफ्नो आन्तरिक व्यावसायिक संरचनालाई थप सरल बनाउनेछ ।

अवतार प्रिमियम स्मार्ट विद्युतीय सवारीको क्षेत्रमा केन्द्रित छ । सन् २०२६ को पहिलो ६ महिनामा उसले २७ हजार ६१९ युनिट कार बिक्री गरेको देखिन्छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.३ प्रतिशतले कम हो ।

त्यसको ठिक विपरीत मास-मार्केटमा दीपल राम्रो गर्दै गएको ब्राण्ड हो । कम्पनीले सन् २०२६ को ६ महिनमा १ लाख ६४ हजार २०० युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढेको हो ।

चांगानले सन् २०३० सम्म अवतार र दीपललाई मिलाएर वार्षिक १५ लाख युनिटभन्दा बढी कार बिक्री गर्ने लक्ष्य लिएको छ ।


Back_to_top