काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य भारी मात्रमा बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै इण्डिन आयल कर्पोरेसन (आइओसी)ले पनि मूल्य बढाएर पठाएको हो ।
नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर २०.४४ रुपैयाँ, डिजेलमा प्रतिलिटर २०.२१ रुपैयाँ, मट्टीतेलमा १५.१६ रुपैयाँ र हवाई इन्धनमा १८.६६ रुपैयाँ बढेर आएको हो।
आइओसीले प्रत्येक १५/१५ तारिखमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ ।
मूल्य बढेर आए पनि भोटेकोशी बाढीका कारण सृजित अवस्था र आउँदै गरेको चाडवाडलाई मध्येनजर गर्दै हाललाई पुरानै बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २४९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ (काठमाडौं) प्रतिकिलोलिटर १६९७ अमेरिकी डलर तोकेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०६० रुपैयाँ तोकिएको छ ।
बढेर आएको मूल्य अनुसार समायोजन नगर्दा आगामी १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।


