काठमाडौं । नेपालमा ओमोडा/जेको ब्राण्डमा उपलब्ध जे-५ र जे-५ प्रोको मूल्यमा ७ लाख रुपैयाँले फरक छ ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पोबाट बुकिङ खुलाएको जे-५ प्रोको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । तर, कम्पनीले एक्स्पोमा बुकिङ गर्नेलाई विशेष छुट दिँदै ४७ लाख ९९ हजार रुपैयाँमै दिएको थियो ।
पहिलेदेखि नै बिक्री गर्दै आएको जे-५ को रेगुलर मोडलको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसलाई भने एक्स्पोमा ५४ लाख ९९ हजार रुपैयाँमा दिएको थियो । अहिले यी दुवै भेरियन्टमा दशैं अफर आउँदा मूल्य फेरिएको छ ।
चाडपर्व अफर अनुसार जे-५ प्रोमा ३ लाख नगद छुट दिएर ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । जे-५ रेगुलर मोडलमा भने १ लाख रुपैयाँ मात्रै छुट छ । यसलाई चाडपर्व अफरमा किन्दा ५५ लाख ९९ हजार तिर्नुपर्छ ।
बाहिरी डिजाइन, आकार र मोटर पावर दुवै भेरियन्टमा समान छ । दुवैमा १५५ किलोवाटको विद्युतीय मोटर छ । यसले २८८ एनएम टर्क प्रदान गर्छ । दुवै भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ मोटर छ ।
दुवैको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम, उचाइ १६५० एमएम र ह्वीलबेस २६२० एमएम लामो छ । ग्राउण्ड क्लियरेन्स पनि समान १८५ एमएम र बुट स्पेस पनि समान ४८० लिटर नै छ ।
किन भयो मूल्यमा ठूलो फरक ?
उस्तै गाडीमा मूल्य ७ लाख रुपैयाँ फरक हुनुको मुख्य कारण ब्याट्री साइज र रेन्ज हो ।
जेकोले यसअघि बिक्री गर्दै आएको जे-५ एसयूभीमा ५८.९ किलोवाट आवरको ब्याट्री छ । जबकि नयाँ जे-५ प्रोमा ५०.६ किलोवाट आवरको ब्याट्री पाइन्छ ।
कम्पनीको दाबी अनुसार सिंगल चार्जमा जे-५ प्रोलाई ४०५ किलोमिटर र जे-५ लाई ४६१ किलोमिटर गुडाउन सकिन्छ । झट्ट हेर्दा ६५ किलोमिटर बढी यात्रा गर्ने ब्याट्री भएको भेरियन्टलाई ७ लाख रुपैयाँ बढी तिर्नु पर्ने हुन्छ ।
सुरक्षा फिचर र अन्य सुविधा हेर्दा पनि दुवै भेरियन्टमा भिन्नता पाइन्न । दुवैमा ६ वटा एयरब्याग, एडास, ५४० डिग्री क्यामेरा, हिटेड तथा भेन्टिलेटेड अगाडिका सिट छन् । ड्युल जोन एसी पनि दुवै भेरियन्टमा छन् ।
त्यसैले जेको जे-५ प्रो रोज्दा कम मूल्यमा मुख्य हार्डवेयर तथा अधिकांश फिचर प्राप्त हुने देखियो । छोटो तथा नियमित शहरी यात्रामा जे-५ प्रोको सानो ब्याट्री पर्याप्त हुन्छ । होइन तपाईंको यात्रा हाइवेमा धेरै हुन्छ भने रेन्जको आधारमा जे-५को ठूलो ब्याट्री महत्वपूर्ण हुन सक्छ ।

