काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड हुन्डाईले आयोनिक-३ युरोपमा बिक्री सुरू गरिसकेको छ । आयोनिक सिरिजमा उपलब्ध कम्प्याक्ट इलेक्ट्रीक ह्याचब्याक मोडल युरोपमा बुकिङ लिन थालिएको हो ।
आकर्षक डिजाइन, उपयोगी इन्टेरियर, आधुनिक प्रविधि र करिब ५०० किलोमिटरसम्मको रेन्जमा उपलब्ध आयोनिक ३ लाई सहरी प्रयोग र दैनिक यात्रालाई पर्फेक्ट मोडल भनिएको छ ।
आयोनिक ३ मा हुन्डाईको ‘एरो ह्याच’ डिजाइन अवधारणा प्रयोग गरिएको छ । एरो डाइनामिक डिजाइनका कारण यसको ड्रयाग कोइफिसियन्ट ०.२६३ सीडी मात्रैछ ।
अगाडिको भागमा स्लिम हेडलाइट र चार-पिक्सेल मोटिफ प्रयोग भएको छ । पछाडिको भागमा स्पोर्टी विन्डो लाइन, स्पोइलर र ठाडो एलईडी लाइट प्रयोग भएको छ । ‘एन लाइन’ भर्सनमा थप कालो डिजाइन एलिमेन्टसँगै ठूलो १९ इन्चको एलोय ह्वील दिइएको छ ।
आयोनिक-३ को लम्बाइ ४१५५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १५०५ एमएम र ह्वीलबेस २६८० एमएम लामो छ । कम्प्याक्ट आकार भए पनि लामो ह्वीलबेस र फ्ल्याट फ्लोरका कारण भित्री भाग फराकिलो लाग्छ ।

प्रविधितर्फ आयोनिक ३ हुन्डाईको नयाँ पेलियोस कनेक्ट इन्फोटेनमेन्ट सिस्टम छ । एन्ड्रोइड अटोमोटिभ ओएसमा आधारित इन्फोटेन्टमेन्ट सिस्टम भेरियन्ट अनुसार १२.९ र १४.६ इन्चगरी दुई अप्सनमा पाउन सकिन्छ ।
डिजिटल की, ईभी रुट प्लानर, वायरलेस स्मार्टफोन मिररिङ, यूएसबी तथा सी टाइप पोर्ट र भेहिकल-टु-लोड जस्ता सुविधा पनि छन् । माथिल्ला भेरियन्टमा बोस साउण्ड सिस्टम, हिटेड तथा भेन्टिलेटेड रिल्याक्सेसन सिट र डुअल-जोन क्लाइमेट कन्ट्रोल उपलब्ध हुनेछ ।
फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध आयोनिक-३ १०० किलोवाट र ११५ किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध हुनेछ । यसको पीकटर्क भने २५० न्यूटन मिटर रहने छ ।
हुन्डाईले आयोनिक-३ लाई दुई ब्याट्री ४२.२ र ६१ किलोवाट आवरमा ल्याउने छ । जसको डब्लूएलटीपी रेन्ज क्रमशः ३४४ र ४९७ किलोमिटर दाबी गरिएको छ । उक्त ब्याट्रीलाई ११५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङबाट १०-८० प्रतिशत चार्ज गर्न करिब ३० मिनेट लाग्नेछ ।

