ब्याट्री उत्पादन क्षमता बढाउँदै चांगान र सीएटीएल

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले विश्वकै ठूलो हाइभोल्टेज ब्याट्री निर्माता सीएटीएलसँगको साझेदारी थप विस्तार गर्ने घोषणा गरेको छ । यी दुई कम्पनी मिलेर स्थापना गरेको कम्पनीको ब्याट्री उत्पादन क्षमता ७५ गिगावाट आवर बनाउने भएको हो ।

चांगान र सीएटीएल मिलेर सन् २०२३ मा संयुक्त लगानीमा ‘टाइम्स चांगान’ नामक कम्पनी स्थापना गरेका थिए । उक्त कम्पनीले अहिले अवतार, दीपल र नेभोमा प्रयोग हुँदै आएको ब्याट्री उत्पादन गर्दै आएको छ ।

अबभने यी दुई कम्पनीले ब्याट्री उत्पादन क्षमता वृद्धिसँगै सोलिड स्टेट र सोडियम आयन ब्याट्री प्रविधिको विकासमा पनि सहकार्य गर्ने भएका छन् ।

टाइम्स चांगानको ब्याट्री उत्पादन क्षमता ५० गिगावाट आवरसम्म तत्कालै पुर्याउने योजना अघि सारिएको छ । नयाँ घोषणाअनुसार थप २५ गिगावाट आवर क्षमताका लागि ५ अर्ब युआन लगानी गरिनेछ ।

करिब ७ लाख वर्गमिटर क्षेत्रफलमा निर्माण हुने नयाँ प्लान्ट सन् २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य छ । तीन वर्षभित्र पूर्ण उत्पादन क्षमता हासिल गर्ने योजना कम्पनीले अगाडि ल्याएको छ ।

उक्त परियोजनाले वार्षिक १० अर्ब युआन आम्दानी गर्ने, २ हजार ५०० जनाले रोजगारी पाउने र स्थानीय सरकारलाई वार्षिक ३० करोड युआन राजस्व प्राप्त हुने अनुमान गरिएको छ ।

यसैबीच, चांगानले आफ्नै ‘गोल्डेन बेल’ सोलिड स्टेट ब्याट्रीको विकासलाई पनि अघि बढाइरहेको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीको ऊर्जा घनत्व ४०० वाट आवर प्रतिकिलोग्राम पुर्याउने लक्ष्य छ । यसले एकपटकको चार्जमा १ हजार ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ ।

चांगानले सोलिड स्टेट ब्याट्रीको सडक परीक्षण सन् २०२६ भित्रै थाल्ने र सन् २०२७ देखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ । साथै, कम्पनीले सोडियम आयन ब्याट्री, ह्युमनोइड रोबोट र चीनको ‘लो अल्टिच्युड इकोनोमी’ क्षेत्रमा समेत सम्भावना खोजिरहेको जनाएको छ ।


Back_to_top