नयाँ डिजाइन र थप शक्तिशाली भएर आयो एक्स्ट्रीम १६० आर फोरभी

काठमाडौं । हिरो मोटोकर्पले एक्स्ट्रीम १६० आर फोरभी मोटरसाइकलको तीन नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले भारतमा हिरो एक्स्ट्रीम १६० आरलाई स्ट्याण्डर्ड, प्रो र कार्बन गरी तीन नयाँ भेरियन्टमा उपलब्ध गराएको हो ।

कम्पनीले भारतीय बजारमा एक्स्ट्रीम १६० आर स्ट्याण्डर्ड भेरियन्टको मूल्य १ लाख २७ हजार भारु, प्रो भेरियन्टको १ लाख ३७ हजार भारु र कार्बनको १ लाख ४१ हजार भारु (एक्स शोरुम) तोकेको छ ।

कम्पनीले हाल नयाँ भेरियन्टको बुकिङ खुलाइएको छ भने डेलिभरि आगामी नोभेम्बर महिनाबाट सुरू हुनेछ ।

हिरो एक्स्ट्रीम १६० आर फोरभीमा डिजाइन, थप फिचर र डिस्प्ले अपडेट गरिएको छ । नयाँ एक्स्ट्रीममा १६४.३२ सीसीको सिंगल सिलिण्डर, आयल कुल्ड, एफआई इन्जिन नै प्रयोग गरिएको छ । पुरानै इन्जिन भए पनि यसको अधिकतम पावर भने बढेको छ । पहिलेको १६.९ एचपीबाट बढाएर १७.१ एचपी पुर्याइएको छ । अब यसले ८७५० आरपीएममा अधिकतम पावर उत्पादन गर्छ । इन्जिनको टर्क क्षमता भने १६.६ एनएम नै यथावत गरिएको छ ।

नयाँ भेरियन्टमा फ्युल ट्यांक र पछाडिको सिट काउलको डिजाइनलाई पहिलेभन्दा आकर्षक र धारिलो बनाइएको छ । साथै, कम्पनीले नयाँ रङ विकल्पहरू पनि थपेको छ ।

भेरियन्ट अनुसार मोटरसाइकलमा फरक फिचर उपलब्ध गराइएको छ । स्ट्याण्डर्डमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, मेकानिकल थ्रोटल, डुअल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस र एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

प्रो भेरियन्टमा भने राइड बाइ वायर, रेन, रोड र स्पोर्ट गरी तीन राइड मोड, क्रुज कन्ट्रोल, ३७ एमएम केवाईबी युएसडी फ्रन्ट फोर्क, प्रिलोड एड्जस्ट गर्न मिल्ने रियर मोनोशक तथा डुअल च्यानल एबीएस उपलब्ध छ ।

सबैभन्दा माथिल्लो कार्बन भेरियन्टमा प्रोका सबै फिचरका साथै नयाँ टीएफटी इन्स्ट्रुमेन्ट डिस्प्ले दिइएको छ । यो डिस्प्ले एक्सपल्स २१० मा प्रयोग गरिएको डिस्प्लेमा आधारित भए पनि एक्स्ट्रीम १६० आरको स्पोर्टी डिजाइन अनुसार यसको लेआउट परिवर्तन गरिएको छ । अपडेटपछि मोटरसाइकलको सिट हाइट ८०५ एमएम र कर्ब वेट १४९ किलोग्राम पुगेको छ ।


Back_to_top