काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल निर्माता हुन्डाईले भारतमा आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी ‘आयोनिक-पी’ नामको ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले भारतमा ल्याउन लागेको कम मूल्यको इलेक्ट्रीक एसयूभी यही नामबाट आउने हल्ला यसअघि नै थियो ।
हुन्डाईले दर्ता गराएको ट्रेडमार्क अहिले प्रक्रियामा रहेको छ । कम्पनीले आधिकारिक रूपमा नाम सार्वजनिक गरिसकेको छैन । तर, सन् २०२६ को तेस्रो त्रैमासिकको वित्तीय समीक्षाका क्रममा कम्पनी व्यवस्थापनले कोडनेम एचई१आईमा विकास भइरहेको नयाँ ईभीलाई आयोनिक-पी नामले सम्बोधन गरेको थियो ।
आयोनिक-पी हुन्डाईको भारतमा उपलब्ध हुने सबैभन्दा सस्तो इलेक्ट्रीक एसयूभी बन्नेछ । क्रेटा इलेक्ट्रीकभन्दा तल रहने यो एसयूभी पूर्ण रूपमा नयाँ डिजाइनमा तयार भइरहेको छ ।
हुन्डाईको ग्लोबल ई-जीएमपी (के) प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको एसयूभीमा सम्भवत ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका दुई ब्याट्री विकल्प पाइने छ । जसलाई कम्पनीले स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा ल्याउने छ ।
गाडीमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम, लेभल-२ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम लगायतका प्रविधि उपलब्ध हुने भएको छ । बक्सी डिजाइन र अपराइट स्टान्समा आधारित हुने एसयूभीमा एलईडी लाइटिङ र डुअल टोन अलोय ह्वीलले यसलाई थप आकर्षक बनाउने अनुमान छ ।
यसमा प्रयोग हुने धेरै फिचर र क्याविनका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

