काठमाडौं । बेलायती लक्जरी कार निर्माता कम्पनी ‘बेन्टले’को पहिलो इलेक्ट्रीक एसयूभी ‘टोरकाल’ उत्पादन सुरू हुनअघि नै सोल्ड आउट भएको छ । कम्पनीका अनुसार सन् २०२७ का लागि छुट्याइएका सबै युनिट सोल्ड आउट भएको हो ।
बेन्टलेका अनुसार टोरकाल ईभी किन्न चाहनेले अब सन् २०२८ सम्म कुर्नुपर्ने छ । अमेरिकामा २ लाख २२ हजार ४९५ अमेरिकी डलर सुरूवाती मूल्य तोकेर यसको बिक्री गरिएको हो ।
कम्पनीका प्रमुख फ्र्यांक स्टेफेन वालिसरका अनुसार सन् २०२७ का लागि उपलब्ध सबै उत्पादन स्लट बुक भइसकेका छन् र कम्पनीले सन् २०२८ मा डेलिभरी दिने गरी नयाँ अर्डर लिन थालेको छ ।
कम्पनीले सन् २०२७ मा कति युनिट टोरकाल उत्पादन गर्ने भन्ने खुलाएको छैन । विभिन्न ३ भेरियन्टमा उपलब्ध बेन्टले टोरकालको टप भेरियन्टको मूल्य ३ लाख ९९५ डलर तोकिएको छ ।
टोरकाल ईभी पोर्श कायेनमा प्रयोग भएको ‘प्रिमियम प्लेटफर्म इलेक्ट्रीक आर्किटेक्चर’मा आधारित एसयूभी हो । यसमा ११३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ । यसलाई अधिकतम ४०० किलोवाट क्षमताको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ ।
दुईवटा इलेक्ट्रीक मोटर जडान गरिएको टोरकालको स्ट्याण्डर्ड भेरियन्टले ८१० हर्सपावर प्रदान गर्छ ।
बेन्टलेले टोरकाल एसयूभीको उत्पादन सन् २०२७ को दोस्रो त्रैमासबाट थाल्ने यसअघि नै घोषणा गरिसकेको छ । गाडी उत्पादन सुरू नहुँदै उपभोक्ताबाट पाएको प्रतिक्रियाबाट कम्पनी निकै उत्साहित रहेको जनाएको छ ।

