काठमाडौं । अर्को साता (नोभम्बर २७ देखि सुरू हुने सन् २०२६ को ग्वाङ्झाउ अन्तर्राष्ट्रिय अटोमोबाइल प्रदर्शनी (अटो ग्वाङ्झाउ)मा १ हजार १०६ वटा सवारी साधन प्रदर्शनीमा राखिने भएको छ ।
आयोजकले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । अटो शो डिसेम्बर ६ सम्म चीनको क्यान्टन फेयर कम्प्लेक्समा आयोजना हुनेछ । यस वर्षको ग्वाङ्झाउ अटो शो २ लाख २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिनेछ।
आयोजकका अनुसार प्रदर्शनीमा राखिने १ हजार १०६ वटा सवारीसाधन मध्ये ७०७ वटा न्यू इनर्जी भेहिकल (एनईभी) रहने छन् । जसमा ११५ वटा नयाँ मोडल सार्वजनिक हुनेछन् ।
गत वर्ष सन् २०२५ को ग्वाङ्झाउ अटो शोमा कुल १ हजार ८५ वटा सवारीसाधन प्रदर्शन गरिएका थिए । तीमध्ये ६२९ वटा एनईभी थिए भने ९३ वटा नयाँ मोडल प्रदर्शन गरिएका थिए ।
आयोजकका अनुसार यस प्रदर्शनीमा सवारी साधनसँगै हाइ भोल्टेजमा आधारित छिटो फास्ट चार्जिङ, एआई मोडलबाट संचालित स्मार्ट क्याबिन तथा सहरका सडकमा नेभिगेसनको सहायताले सवारी चलाउने प्रविधिलगायत अत्याधुनिक प्रविधिहरू प्रदर्शन गरिनेछन् ।
अटो शोमा चीनमा अधिकांश ब्राण्डसँगै विदेशी ब्राण्डहरूले सहभागिता जनाउने छन् । यस अटो शोमा बीवाइडी, डेन्जा, याङवाङ र फाङ चेङ बाओ , जिली अटो, ग्रेट वाल मोटर (जीडब्लूएम), चेरी र चंगान, नियो, अनभो, फायरफ्लाइ, एक्सपेङ, साओमी अटो, ली अटो, लिपमोटर, जीकर, अवातर, हिमा, फ्रिल्यान्डर लगायत ब्राण्डले सहभागिता जनाउँदै छन् ।
विदेशी ब्राण्डतर्फ बीएमडब्लूू, मर्सिडिज बेन्ज, फक्सवागन, अउडी, पोर्श, फोर्ड, जनरल मोटर्स, टोयोटा, होन्डा, निसान र हुन्डाई जस्ता बहुराष्ट्रिय सवारीसाधन निर्माता कम्पनीहरूले आफ्ना नयाँ उत्पादनहरू प्रदर्शन गर्नेछन्।
आयोजकले सार्वजनिक गरेको सहभागी कम्पनीहरूको सूचीमा टेस्लाको नाम भने उल्लेख छैन । यसले अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्ला चीनका प्रमुख अटोमोबाइल प्रदर्शनीहरूमा सहभागी नहुने क्रमलाई निरन्तरता दिने देखिएको छ ।

