दुई भेरियन्टमा आयो होण्डा रिबेल ५००, मूल्य आकर्षक

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी होण्डाले आफ्नो लोकप्रिय क्रुजर मोटरसाइकल रिबेल ५०० भारतीय बजारमा सार्वजनिक गरेको छ ।

होण्डा इन्डियाले रिबेल ५०० को स्ट्याण्डर्ड र ई-क्लच गरी दुई नयाँ भेरियन्ट उपलब्ध गराएको हो । कम्पनीले भारतीय बजारमा स्ट्याण्डर्ड भेरियन्टको मूल्य ४ लाख ४९ हजार ९०० भारु र ई-क्लच भेरियन्टको मूल्य ४ लाख ८९ हजार ९०० भारु तोकेको छ । यो मूल्यलाई आकर्षक मानिएको छ ।

यो मोटरसाइकल म्याट एक्सिस ग्रे मेटालिक र म्याट ड्युन ब्राउन गरी दुई कलर अप्सनमा उपलब्ध छ ।

होण्डा रिबेलमा ४७१ सीसीको लिक्विड कुल्ड, प्यारालल ट्विन सिलिण्डर इन्जिन दिइएको छ । यसमा ६ स्पीड गियरबक्स छ । यसको ई–क्लच भेरियन्टमा क्लच लिभर प्रयोग नगरी मोटरसाइकल स्टार्ट गर्न, गियर परिवर्तन गर्न र रोक्न सकिने सुविधा उपलब्ध छ ।

मोटरसाइकलमा १६ इन्चको ह्वील दिइएका छ । सुरक्षाका लागि अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस र स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल सिस्टम उपलब्ध छ ।

यसमा गोलाकार टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । होण्डा रोडसिंक प्रविधिसहितको उक्त कन्सोलले ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन तथा कल र एसएमएस अलर्ट सपोर्ट गर्छ ।

आकर्षक क्रुजर डिजाइन, ट्विन सिलिण्डर इन्जिन र आधुनिक फिचरका कारण रिबेल ५०० बजारमा चासोको मोडल बन्ने देखिन्छ ।


Back_to_top