५ हजार ईभी बिक्रीको नजिक पारामाउन्ट मोटर्स

काठमाडौं । सन् २०१९ बाट नेपालमा विद्युतीय कार बिक्रीमा हात हालेको पारामाउन्ट मोटर्सले ५ हजार युनिट बिक्री पूरा गर्न लागेको छ । नेपालमा ईभीको बजार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येको एक ब्राण्ड एमजी र बुलिङका ईभी मिलाएर पारामाउन्ट मोटर्सले ५ हजार युनिटको आँकडा भेट्टाउन लागेको हो ।

पारामाउन्ट मोटर्सले सन् २०१९ मा पहिलो पटक एमजी जेडएस ईभी मार्फत बजारमा ईभी लिएर प्रवेश गरेको थियो । एमजी जेडएस नेपाली बजारमा लामो समय सफलता पाउने मोडल मध्येको एक हो । अहिले पनि यसलाई रिकण्डिसन बजारमा किन्न चाहने थुप्रै मानिस छन् ।

सन् २०१९ देखि २०२४ सम्म निरन्तर बिक्री भएको जेडएस ईभीलाई एमजी एस फाइभले रिप्लेस गरेको थियो । एमजी जेडएस ईभी अहिले पनि नेपाली सडकमा २ हजार ३४९ युनिट गुडिरहेका छन् । स्मार्ट डिजाइन, उत्कृष्ट पर्फमेन्स र ठिक्कको रेन्ज भएका कारण धेरै उपभोक्ताले जेडएस ईभी मनपराएका थिए ।

एमजीको संख्यात्मक बिक्रीमा सन् २०२५ बाट बजारमा आएको एस फाइभ ईभीको भूमिका पनि निकै महत्वपूर्ण रह्यो । अहिले पनि बजारमा उपलब्ध राम्रा एसयूभीको सूचीमा पर्ने एस फाइभले झण्डै २० महिनाको अवधिमा १ हजार ४३६ युनिट बिक्री पूरा गरिसकेको छ । यो पारामाउन्टले बिक्री गरेको दोस्रो धेरै रोजाइको मोडल बनिरहेको छ । यसले अझै केही वर्ष उपभोक्ताको मन जित्ने देखिन्छ ।


एमजीका विद्युतीय कारको नाम लिँदा एमजी फोर बिसर्नै नसकिने नाम हो । स्पोर्टी डिजाइन र आक्रमक फ्रन्ट लुकमा तयार भएको एमजी फोर युरोपियन बजारमा खुबै रुचाइएको मोडल हो । नेपालमा पनि ३७४ युनिट एमजी फोर बिक्री भएको देखिन्छ ।

भारतमा उत्पादन भएको कोमेट ईभी पनि राम्रै संख्यामा सडकमा गुडिरहेको छ । पारामाउन्ट मोटर्सले कोमेट ईभी ३६० युनिट बिक्री गरेको देखिन्छ ।

एमजी आइएम सिक्स पनि नेपाली बजारमा निकै चर्चा कमाएको मोडल हो । संख्यात्मक रूपमा भने अहिलेसम्म ६३ युनिट आइएम सिक्स नेपाल आएको देखिन्छ । एमजी विन्डसर भने कम्पनीले १८ युनिट नेपाल ल्याएर बिक्री गरेको देखिन्छ ।

एमजीकै कन्भर्टेबल स्पोर्टस् कार साइबर स्टर पनि २ युनिट नेपाल आएका छन् । यसका अलाव पारामाउन्ट मोटर्सले एसएआइसी ग्रुप अन्तर्गतकै बुलिङ ब्राण्डका बिङ्गो ह्याचब्याक १०२ युनिट र एक्सियन एसयूभी ८० युनिट नेपाल ल्याइसकेको छ ।

पारामाउन्ट मोटर्सले एसएआइसी ग्रुप अन्तर्गत उत्पादन भएका एमजी, एमजी आइएम सिक्स र बुलिङका ४ हजार ९७२ युनिट कार नेपाल ल्याएर बिक्री गरेको देखिन्छ ।

थप आक्रमक बजार विस्तार गर्ने रणनीति

अहिले पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएका एमजी र वुलिङ दुवै ब्राण्डमा नयाँ मोडल थप्दै लगेको देखिन्छ । विगतको अनुभवबाट पनि एमजी निरन्तर नयाँ मोडल बजारमा ल्याउने ब्राण्डमा पर्छ ।
बुलिङ ब्राण्डमा पनि कम मूल्यको चार ढोका भएको मिनी कारदेखि ठूलो एक्सियन एसयूभीसम्म बिक्री थालिसकेको छ । साथै, बिङ्गोमा नयाँ मोडल र अर्को एमपीभी पनि बिक्री गर्ने तयारमा कम्पनी रहेको छ ।

एमजीले पनि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराएको एमजी फोर अर्बान देखि एमजी फोर एक्स एसयूभीसम्मका उत्पादन नेपाली बजारमा आउन तयार छन् ।

सर्भिस नेटवर्क र सेवा विस्तार

पूरानो मध्येको एक ईभी बिक्रेता भएको कारण पारामाउन्ट मोटर्सले आफ्नो सर्भिस सुधार गर्दै लगेको छ । कम्पनीका अनुसार सर्भिसमा जनशक्ति थप्ने, ट्रेनिङहरू गर्ने र पार्ट्सको उपलब्धता बढाउँदै लाने काम भएको छ ।
निजी क्षेत्रबाट डिसी फास्ट चार्जर जडानमा अग्रसरता देखाउने सुरूवाती कम्पनीहरू मध्येको एक एमजीले पछिल्ला दिनमा ईभीको इको सिस्टम निर्माण थप लगानी गरिरहेको जनाएको छ ।

बढ्दो प्रतिस्पर्धामा खरोउत्रन पारामाउन्ट मोटर्सले सबै मोर्चालाई बलियो बनाउँदै लगेको र चल्तीका मोडलसँगै नयाँ मोडलको सहायताले बजारमा थप गतिशील बन्ने लक्ष्य राखेर काम गरिरहेको जनाएको छ ।


Back_to_top