काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी इमास ७ ले सुरक्षामा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मलेसियामा आयोजित एसेन एनक्याप ग्राण्ड प्रिक्स अवाड्र्स २०२६ मा इमास ७ ‘सेफ्टी असिस्ट’ विधामा सम्मानित भएको हो ।
यस उपलब्धिले इमास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रतिको प्रोटोनको प्राथमिकतालाई उजागर गरेको छ ।
इमास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधाहरू उपलब्ध छन् । यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ । यी सुविधाले सवारी चलाउँदा चालकलाई थप सहायता प्रदान गर्छन् ।
सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मानसँगै इमास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन् । जसमध्ये अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएका थिए। सोही अवधिमा प्रोटोन इमासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्, जसले कम्पनीका विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई देखाउँछ।
नेपालमा प्रोटोन इमास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत उपलब्ध हुँदै आएको छ । प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन् । यसमा सामान व्यवस्थित राख्नका लागि ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन् ।
त्यस्तै, यसको भेहिकल टु लोड सुविधामार्फत गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ, जसले यात्राका क्रममा आवश्यक विद्युतीय उपकरण प्रयोग गर्न सहज बनाउँछ । यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल र मनोरञ्जन सम्बन्धी सुविधालाई सहज तथा प्रभावकारी बनाउँछ।
यसको प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसमा ४९.५२ किलोवाट आवर ब्याट्री उपलब्ध छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको फुलचार्जमा ३४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।
त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर ब्याट्री रहेको छ । जसले ४१० किलोमिटरसम्मको रेन्ज दिन्छ । दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । जसको मद्दतले करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
प्रोटोन इमास ७ मा यस सेग्मेन्टमै विशेष रहेको ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता रहेको छ भने यसले १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्दछ ।

