काठमाडौं । प्रदेश नम्बर ३ मा निजी सवारी (गैर व्यवसायीक सवारी)लाई भाडामा प्रयोग गर्न नपाइने नियम बनेको छ । तर, निश्चित रुट, भाडा निर्धारण तथा यात्री बीमा गरे मोटरसाइकला तथा कार भाडामा संचालन गर्न पाईने व्यवस्था गरेको हो । प्रदेश नम्बर ३ को संसदले बनाएको यातायात ऐनमा यस्तो उल्लेख गरिएको छ ।
प्रदेश नम्बर ३ को संसदले बनाएको ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ को दफा १३ मा गैर व्यवसायीक सवारीको व्याख्या गरिएको छ । दफा १३ को उपदफ १ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैर व्यवसायीक सवारी भनिनेछ भनि लेखिएको छ । त्यस्तै उपदफा २ मा गैर व्यवसायीक सवारी व्यवसायीक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनि स्पष्ट पारिएको छ ।
यातायात व्यवस्था विभागले पनि केही समयअघि संघीय सरकारलाई भाडामा यात्रु बोक्ने मोटरसाइकललाई पनि कालो नम्बर प्लेटको व्यवस्था गर्न सुझाव गरेको थियो । त्यसो नगर्ने हो भने टुटल र पठाओजस्ता सेवा नै बन्द गर्नु उपयुक्त हुने राय विभागको थियो ।
संघीय सरकारले हासम्म संघीय यातायात ऐन ल्याउन सकेको छैन । प्रदेश नम्बर ३ सरकारले २०७५ माघमै प्रदेश यातायात व्यवस्था ऐन ल्याइसकेको छ । उक्त ऐनमा गैर व्यावसायीक सवारीलाई व्यवसायीक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
तर प्रदेश सरकारले बनाएको यातायात एनेको दफा १३ को उपदफा ४ मा भने उपदफा २ मा जुनसुकै कुरा लेखिएको भएतापनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पुरा गरि आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरि यात्रु ओसार पसार गर्न सक्नेछ भनि लेखिएको छ ।
टुटल तथा पठाओ जस्ता सेवाले मोटरसाइकलबाट यात्रु ओसार पसार गरेको देखिएकाले यो कानुन विपरित थियो । विगतको सवारी तथा यातायात व्यवस्था ऐनले निजी सवारीलाई भाडामा प्रयोग गर्न नपाइने व्यवस्था थियो ।
टुटल र पठाओले लामो समयदेखि मोटरसाइकलमा भाडाका यात्रु बोक्ने प्लेटफर्म सञ्चालन गर्दै आएका छन् । कानुनी अड्चनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले बन्द गराउन सुरु गरेको टुटल पठाओको सेवा पुनः सुचारु भएको हो ।
अहिले भने प्रदेश नम्बर ३ सरकारले निश्चित रुट, भाडा तथा यात्री बीमा गरेपछि मात्र दुईपांग्रे तथा चारपांग्रे गैर व्यवसायीक सवारीले पनि भाडामा चलाउन पाउने गरि कानुन बनाएको हो ।

