अब लामो दुरीका यात्रुबाहक बस ४ घण्टा गुडेपछि आधा घण्टा रोकिनुपर्ने

काठमाडौं । पछिल्लो समय यात्रुबाहक सवारी दुर्घटना बढ्दै गएपछि यातायात व्यवस्था विभागले लामो दुरीमा गुड्ने सार्वजनिक बसका लागि नयाँ नियम लागू गरेको छ। 

नयाँ नियम अनुसार अब ४  घण्टा  गुडेका यात्रुबाहक सार्वजनिक बस आधा घण्टा रोक्नुपर्नेछ। मंगलबार एक सूचना जारी गर्दै विभागले  लामो दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीले प्रत्येक ४ घण्टामा एक पटक आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था लागू गरेको हो। 

यस्तै विभागले  प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने व्यवस्थालाई पनि कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । यी नियम पालना नगरेको पाइएमा कानुन अनुसार कारबाही गर्ने विभागले जनाएको छ ।  

विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९  बमोजिम यी नियम कार्यान्वयनमा ल्याएको हो ।  

कस्तो व्यवस्था छ ऐनमा ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०३ मा ‘४  घण्टाभन्दा बढीको दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीले प्रत्येक ४ घन्टामा एक पटक आधा घन्टा विश्राम गर्नुपर्छ’ भनी उल्लेख गरिएको छ।

यस्तै एनको दफा १०४ मा ‘लामो बाटो ९प्रस्थान स्थानबाट २ सय ५० किलोमिटर वा सोभन्दा बढी दुरीको गन्तव्य स्थान०मा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्पनीमा २ जना चालक अनिवार्य रुपमा राखी प्रत्येक ६ घन्टापछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ’ भनी उल्लेख गरिएको छ। 


Back_to_top