काठमाडौं । हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक हुने अन्तिम तयारीमा रहेको छ । नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल्स प्रालिले नाडा अटो अगाडि नै भेन्यू बजारमा ल्याउने भएको हो ।
कम्पनीले आफ्नो चर्चित मोडल भेन्यूलाई नाडा अटो शो २०१९ मा निकै प्राथमिकताका साथ प्रदर्शनी गर्ने भएको छ । आउँदै गरेको चाडपर्वमा ग्राहकले नयाँ गाडी धेरै किन्ने हुँदा भेन्यू प्रतिक्षित सब फोर मिटर एसयूभीमा परेको हो । उक्त सेग्मेन्टमा अहिले मारुती सुजुकी ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सनजस्ता मोडल बिक्री भइरहेका छन् ।
गत १५ मेबाट बिक्री सुर भएको भेन्यू पहिलो महिना नै ७ हजार ४९ यूनिट बिक्री भएको थियो भने ६० हजार ग्राहक पर्खेर बसेको अटोकार इन्डियाले उल्लेख गरेको छ ।
भेन्यूको सबैभन्दा सबल पक्षको रुपमा ६९ प्रतिशत एड्भान्स हाई स्ट्रेन्थ स्टिलबाट बडी निर्माण हुनु रहेको कम्पनीले दाबी गर्दै आएको छ ।
हुन्डाईका निकै महंगा गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडिको आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरिएको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।
३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । ठूलो क्याविन र स्पोर्टी सिटले सबैलाई लोभ्याउन सक्ने छ ।
कारमा इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । ड्यास बोर्डमा निकै स्टाइलिससँग सजाईएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले जो कोहीलाई लोभ्याउँन सक्छ ।
भेन्यू भारतकै पहिलो स्मार्ट कनेक्टेड गाडीसमेत बनेको छ । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर यसमा रहेको भएपनि नेपालमा कतिवटा फिचरले काम गर्न सक्छ अहिल्यै बताउन सक्ने अवस्था छैन ।
यसमा दिइएको कनेक्टीभीटी टेक्नोलोजीले एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, इन्जिन, सेफ्टी र अन्य फिचरको पनि जानकारी दिनेछ ।
कम्पनीले भेन्यूलाई तीन इन्जिन अप्सनमा बजारमा उतारेको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७.५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ ।
भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
यसको नेपाली बजारमा सुरुवाति मूल्य ३५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


