काठमाडौं । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त जानकारी दिए । नवनियुक्त महानिर्देशक डंगोल पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन् ।
उनी यसअघि गत मंसिरमा दुई साता क्यानको महानिर्देशक बनेका थिए । क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेसँगै उनले मंसिर १९ गते महानिर्देशकको जिम्मेवारी पाएका थिए ।
सरकारले खुला प्रतिस्पर्धाबाट क्यानको महानिर्देशक छान्न गत साता आवेदन मागेको थियो । जसमा २१ जनाले आवेदन दिएका थिए ।


