काठमाडौं । निर्माण सुरू भएको डेढ दशकसम्म अधुरै रहेको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गलाई २९ अर्ब रुपैयाँ स्रोत सहमति दिइएकाे छ ।
अर्थमन्त्रालयले हुलाकी राजमार्गलाई चालु वर्षका लागि २९ अर्ब ७ करोड १९ लाख रुपैयाँ स्रोत सहमति दिएको हो । उक्त रकमबाट हुलाकी राजमार्ग अन्तर्गत ६९ पुल, १० कल्भर्ट र विभिन्न ७ खण्ड गरी १५०.०९ किमी सडक निर्माण र कालोपत्र गरिने छ ।
हुलाकी राजमार्ग निर्देशनालयका सूचना अधिकारी विष्णुबाबु पाण्डले स्रोत सहमति पाएसँगै चितवन राष्ट्रिय निकुञ्ज बाहेक खण्डको नयाँ ठेक्का लगाउने तयारी भइरहेको बताए ।
उनका अनुसार हाल निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका आधारमा ठेक्का लगाइने खण्डको लागत स्टिमेट तयार भइरहेको छ । स्टिमेट सकिएपछि आवश्यक प्रक्रिया पूरा गरी चाँडै टेन्डर आह्वान गरिने उनले बताए ।
‘हुलाकी राजमार्ग अन्तर्गत ६९ पुल, १० कल्भर्ट र १५० किमी सडक निर्माणका लागि २९ अर्ब ७ करोड स्रोत सहमति पाएको छ । अहिले ठेक्का लगाउने खण्डहरूको धमाधम स्टिमेट तयार गर्ने काम भइरहेको छ । बिड डकुमेन्ट तयारी पारी चाँडै टेन्डर आह्वान हुन्छ,’ उनले मेरोअटोसँग भने । असार मसान्त भित्रै नयाँ ठेक्का लगाइसकिने उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८७ किमी सडकको भने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) फाइनल भएपछि मात्रै ठेक्का लगाइने उनले बताए ।
७५ प्रतिशत सकियो काम
तराई मधेशका २१ जिल्ला सदरमुकाम र घना बस्तीलाई जोड्दै यातायातको सहज पहुँच विस्तार गर्ने उद्देश्यले आव २०६६/६७ देखि निमार्ण थालिएको हुलाकी राजमार्गको प्रगति भने निकै सुस्त छ । काम थालिएको १७ वर्षसम्म यो राजमार्गको करिब तीनचौथाई मात्रै काम सकिएको छ ।

हुलाकी राजमार्गको कुल लम्बाइ १८७५ किमी लामो छ । जसमा झापाको भद्रपुरदेखि पश्चिम कञ्चनपुरको दैजीसम्म (पूर्व-पश्चिम) ९७५ किमी लामो छ । त्यसबाहेक महेन्द्र राजमार्गदेखि भारतीय सीमासम्म कुल ८८२ किमीका ३५ वटा सडक रहेका छन् ।
सूचना अधिकारी पाण्डेका अनुसार हालसम्म भौतिक प्रगति ७४.९० प्रतिशत पुगेको छ । आयोजना अन्तर्गत हालसम्म ७२ अर्ब रुपैयाँ खर्च भएको उनले बताए ।
बजेट अभाव, रुख कटान, साइट क्लियरेन्स, मुआब्जा विवाद, ठेकेदारको ढिलासुस्ती, निकुञ्ज क्षेत्रमा अलायनमेन्ट टुंगो नलाग्दा लगायत कारणले हुलाकी राजमार्गले गति लिन नसकेको हो ।
कुल १८७५ किमीमध्ये हालसम्म १३८८ किमी कालोपत्र भइसकेको उनले जानकारी दिए । त्यस्तै, २५० किमी खण्डमा हाल काम भइरहेको छ भने २२८ किमी ठेक्का लाग्नै बाँकी छ । ठेक्का लागेका अधिकांश खण्डको काम आगामी वर्षभित्र सम्पन्न भइसक्ने उनले बताए । नयाँ ठेक्का लगाइने सडक आगामी ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
हुलाकी राजमार्ग ३०० वटा पुल निर्माण गर्नुपर्ने छ । सोमध्ये हालसम्म १५५ वटा सम्पन्न भइसकेको र ५५ वटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । आगामी असार भित्रै निकुञ्ज क्षेत्र बाहेकका ६९ पुल र १० कल्भर्टको ठेक्का लगाइने उनले जानकारी दिए ।

आयोजनाको सुरूको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । समयमै काम सम्पन्न नहुँदा आयोजनाको लागत बढेर १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको सडकको डिजाइन टुंगो नलागेकाले यसको लागत अझै बढ्न सक्ने देखिन्छ । हालसम्म ७२ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ । आव २०८३/८४ सम्ममा काम सक्ने संशोधित लक्ष्य छ । तर, अझै डिजाइन र रेखांकनको समेत टुंगो नलागेकाले कम्तीमा ३ वर्ष लाग्ने सूचना अधिकारी पाण्डेले बताए ।
हुलाकी राजमार्ग आयोजनाको निर्माण हाल ६ योजना कार्यालय मार्फत अघि बढाइएको छ । राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै हुलाकी राजमार्गका रूपमा अघि बढाइएको हो । सुरूमा यो राजमार्ग भारत सरकारले अनुदानमा निर्माण गर्ने सम्झौता भएको थियो । आव २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटी’मा काम हुन सकेन । आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व-पश्चिम सडकसँगसँगै ‘फिडर रोड’ अघि बढाइएको थियो ।


