पेट्रोलियम बिक्रेतालाई निगमको ११ बुँदे निर्देशन, पालना नगरे कारबाही

काठमाडौं । नेपाल आयल निगमले देशभरका आफ्ना आधिकारिक पेट्रोलियम बिक्रेताहरूलाई ११ बुँदे निर्देशन दिएको छ ।

निगमले एक सूचना जारी गर्दै बिक्रेताहरूलाई बिक्रीस्थल व्यवस्थापन गर्दै सुरक्षा मापदण्ड पालना गर्न ७ दिने अल्टिमेट दिएको हो ।

निगमले बिक्रेताहरूलाई बिक्रीस्थलमा सेवाग्राहीहरूको लागि पेट्रोलियम पदार्थको शुद्धता, सुरक्षा र स्वच्छता सुनिश्चित गर्न, अग्निजन्य जोखिम न्यूनीकरण गर्नका लागि उचित अर्थिङ्ग गरी अग्नि सुरक्षाका साधनहरू तयारी अवस्थामा राख्न, टैंक ट्रक अनलोडिङ्ग गर्दा पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गरी जोखिम रहित तरिकाले टैंक ट्रक अनलोड गर्न निर्देशन दिएको हो ।

त्यस्तै, बिक्रेताहरूले बिक्रीस्थलमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने, सेवाग्राहीलाई निशुल्क शौचालयको व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थको खुद्रा बिक्र मूल्य आम उपभोक्ताले सजिलै देखिने गरी मूल्यसूची राख्नुपर्ने, आकासे पानीको निकासको लागि सर्फेस ड्रेनेज बनाउनुपर्ने, बिजुली बत्तीको उचित व्यवस्था हुनुपर्ने, परिसरभित्र रहेका क्यानोपी दुरुस्त अवस्थामा राखुपर्ने र परिसरको सम्पूर्ण संरचनामा रंगरोगन गरी सौन्दर्य र सरसफाइ कायम गर्नुपर्ने निगमले जनाएको छ ।

निगमले बिक्रेताहरुलाई माथि तोकिएका कार्यहरु ७ दिन भित्र दुरुस्त राख्न भनेको छ । साथै जुनसुकै समयमा निगम वा अन्य सम्बन्धित आधिकारिक निकायबाट अनुगमन हुँदा कैफियत पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (संशोधन सहित) अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।


Back_to_top