अस्ट्रेलियन कार बजारमा पकड जमाउँदै चिनियाँ ब्राण्ड

काठमाडौं । अस्ट्रेलियन कार बजारमा चिनियाँ ब्राण्डले आफूलाई बलियो बनाउँदै लगेका छन् । अस्ट्रेलियामा सर्वाधिक धेरै कार बिक्री गर्ने ब्राण्डमा ४ चिनियाँ कम्पनीले स्थान सुरक्षित गरेका हुन् ।

चिनियाँ ब्राण्ड बीवाइडी, जीडब्लूएम, चेरी र एमजीले धेरै बिक्री हुने १० ब्राण्ड भित्र आफूलाई अटाउन सफल भएका हुन् । त्यसमध्ये बीवाइडी अस्ट्रेलियामा दोस्रो सर्वाधिक बिक्री हुने ब्राण्ड बनेको छ । सन् २०२६ लागेसँगै बीवाइडीले एक्लै २५ हजार २४३ युनिट कार बिक्री गरेको हो ।

बीवाइडीको सिलायन सेभेन मोडल नै ६ हजार २४८ युनिट बिक्री भएको देखिन्छ । जुन सर्वाधिक बिक्री भएको विद्युतीय कार टेस्ला मोडल वाइ बराबर जस्तै हो । टेस्ला मोडल वाइ ६ हजार ७१९ युनिट बिक्री भएको थियो । अस्ट्रेलियामा बीवाइडीले सिलायन सेभेन, सिलायन एट, एटो वान, एटो टु, एटो थ्री र सिल मोडल बिक्री गर्दै आएको छ ।

प्लगइन हाइब्रिड सिलायन सिक्स र सार्क सिक्स पीकअप पनि अस्ट्रेलियामा बिक्री हुँदै आएको छ । साथै, डेन्जा ब्राण्डका कार पनि बीवाइडीले बिक्री गरिरहेको छ ।

अस्ट्रेलियामा चेरी पनि निकै बलियो देखिएको छ । चेरीले २०२६ लागेसँगै आफ्नो बिक्री ९२.४ प्रतिशतले बढाएको ड्राइभ डटकमले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । कम्पनीको टिगो फोर एसयूभी आफ्नो सेग्मेन्टको सर्वाधिक बिक्री हुने मोडल हो ।

त्यसैगरी जेको जे फाइभ पनि राम्रो चर्चा र बिक्री पाइरहेको मोडल हो ।

ग्रेटवाल मोटर्सले पनि अस्ट्रेलियामा राम्रो व्यापार गर्दै आएको छ । कम्पनीले २०२६ लागेसँगै १९ हजार ५९५ युनिट गाडी बिक्री गरिसकेको छ । ग्रेटवालको जोलाइन, हाभल, क्यानन् र क्यानन् अल्फा जस्ता मोडल धेरै बिक्री भएका छन् ।

एमजी मोटर्स पनि बलियो ब्राण्डको रूपमा अस्ट्रेलियामा पकड जमाउँदै आएको छ । एमजीले २०२६ लागेसँगै १४ हजार २७३ युनिट गाडी बिक्री गरेको छ । एमजीको बिक्रीमा आइएम फाइभ र सिक्स, एमजी एस फाइभ, एमजी थ्री र फोरको सबैभन्दा बढी योगदान छ ।

जिली र लीपमोटरले पनि आफ्नो बिक्रीलाई राम्रो नम्बरमा बढाएका छन् । जिलीको ईएक्स फाइभ र लीपमोटरको बी १० एसयूभीले राम्रो बिक्री पाएको हो ।

जिकर, फोटोन, दीपल जस्ता ब्राण्ड पनि अस्ट्रेलियन उपभोक्ताको रोजाइमा पर्दै आएका छन् ।


Back_to_top