१२ नयाँ मोडलका स्कुटर र मोटरसाइकल ल्याउँदै हिरो

काठमाडौं । भारतको सबैभन्दा ठूलो दुईपाँग्रे सवारी निर्माता हिरो मोटोकर्पले आर्थिक वर्ष २०२७ सम्ममा १२ भन्दा बढी नयाँ मोडल बजारमा ल्याउने भएको छ ।

सन् २०२६ मा बिक्रीमा रफ्तार लिइरहेको हिरोले २०२७ मा दोहोरो अंकको वृद्धि प्राप्त गर्न नयाँ १२ मोडल ल्याउने योजना अघि सारेको हो ।

हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रीक सेग्मेन्ट भीडा, हिरो स्कुटर र प्रिमियम मोटरसाइकलतर्फ केन्द्रित नयाँ मोडलहरू बजारमा उपलब्ध गराउने भएको हो ।

कम्पनीले ईभी ब्राण्ड भीडा अन्तर्गत ईभी स्कुटर, जुम सिरिजका स्कुटर तथा अन्य नयाँ प्रिमियम मोटरसाइकलहरू ल्याउने विषेश योजना बनाएको हो ।

विगत धेरै वर्षसम्म हिरोको व्यापार मुख्य रूपमा कम्युटर मोटरसाइकलमा निर्भर थियो । तर अहिले कम्पनीले आफ्नो उत्पादन दायरा विस्तार गर्दै उच्च मूल्य र बढी फिचर भएका साधनतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।

कम्पनीले जुम स्कुटर लाइनअपको उत्पादन क्षमता विस्तार गरिसकेको छ । डेस्टिनी स्कुटरको उत्पादन बढाउने काम पनि अन्तिम चरणमा पुर्याएको छ भने भीडा ई-स्कुटरको उत्पादनलाई पनि तीव्र बनाइरहेको छ ।

कम्पनीका अनुसार सन् २०३० सम्ममा कुल स्कुटर बिक्रीमध्ये आधाभन्दा बढी हिस्सा विद्युतीय स्कुटरले ओगट्न सक्ने देखिन्छ । ईभी स्कुटर बिक्री डाटाको आधारमा यो सम्भावना बढिरहेको विश्लेषण छ । हिरोले अन्तर्राष्ट्रिय प्रोडक्ट उत्पादनसँगै स्थानीय प्रोडक्ट उत्पादन, क्षेत्रगत रूपमा बजार विस्तार र सप्लाई चेनलाई मजबुत बनाउने काम पनि सँगसँगै गरिरहेको छ ।

हिरो मोटोकर्पले चालु आर्थिक वर्षमा बजारमा ल्याउने दर्जन भन्दा बढी नयाँ उत्पादनमा पेट्रोल र विद्युतीय दुवै श्रेणीका सवारी रहने बताइएको छ । कम्पनीले मुख्यगरी १२५ सीसीभन्दा माथिका मोटरसाइकल तथा प्रिमियम सेग्मेन्टबाट भविष्यमा अझ ठूलो व्यापारिक योगदान आउने अपेक्षा गरेको छ । किनकि ग्राहकहरूको रुचि अब बढी फिचर र प्रदर्शन भएका सवारीतर्फ सर्दै गएको छ ।

यसका अलावा कम्पनीले २०२७ का लागि करिब १ हजार ५०० करोड भारतीय रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । यो रकम मुख्य रूपमा ईभी उत्पादन विस्तार, अनुसन्धान तथा विकास(आर एण्ड डी), स्कुटर उत्पादन तथा भविष्यका प्रविधिमा खर्च गरिनेछ ।


Back_to_top