काठमाडौं । मध्यपूर्वमा जारी युद्धको असर अटोमोबाइल क्षेत्रमा पनि देखिन थालेको छ । गत फेब्रुअरी २८ देखि सुरू भएको अमेरिका-इजरायल र इरान युद्धको असर क्रमशः अर्थतन्त्रका विभिन्न क्षेत्रमा फैलिन थालेको हो ।
युद्ध सुरू हुने बित्तकै त्यसको सिधा असर कच्चा तेल र अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा देखिएको थियो। द्धन्द्ध लम्बिँदै जाँदा अन्य क्षेत्रमा पनि प्रभाव विस्तार हुन थालेको हो ।
युद्धका कारण एक देशबाट अर्को देशमा सवारी निर्यात प्रभावित हुन थालेको छ । भारतबाट खाडी मुलुकहरूमा पठाइएको २ हजार बढी कार बीच बाटोमै अड्किएका छन् ।
न्यू इन्डियन एक्सप्रेसका अनुसार हुन्डाई मोटर इन्डियाले पश्चिम एशियाली देशमा पठाएका करिब २ हजार सवारी साधन चेन्नई बन्दरगाहमै फिर्ता ल्याउनुपर्ने अवस्था आएको छ ।
ती गाडीहरू श्रीलंकाको हम्बन्टोटा बन्दरगाह हुँदै पश्चिम एशियातर्फ पठाइएको थियो । तर, हर्मुज जलमार्ग र रेड सी हुँदै जहाज चलाउन असुरक्षा बढेपछि सामान पठाउन समस्या भएको हो । द्धन्द्ध चर्किँदै जाँदा विश्वकै प्रमुख मध्येको एक जलमार्ग स्ट्रीट अफ हर्मुज इरानले बन्द गरेको छ । उसले कसलै जबरजस्ती जहाज चलाए आक्रमण गर्ने चेतावनी समेत दिएको छ ।
हुर्मज जलमार्गमा असुरक्षा बढेपछि शिपिङ कम्पनीहरूले पनि आफ्नो यात्रा र सामान ढुवानीबारे पुनर्विचार गर्न थालेको चेन्नई बन्दरगाहका एक अधिकारीले बताएका छन् ।
यो अवस्थाले गल्फ देशहरूसँग सम्बन्धित कन्टेनर ढुवानीमा ठूलो असर परेको छ। बन्दरगाह स्रोतका अनुसार गल्फ मार्गबाट करिब ४ हजार कन्टेनर फिर्ता भएका छन् । जसमा १ हजार ८०० कन्टेनर चेन्नईबाट पठाइएका थिए ।
यस क्षेत्रमा बढ्दै गएको द्वन्द्वका कारण मुख्य समुद्री व्यापार मार्गहरू प्रभावित भएका छन्। यसको असर पश्चिम एशिया र युरोपमा पठाइने निर्यात सामानमा परेको छ । भारतीय निर्यातकर्ताहरूले ठूलो आर्थिक नोक्सानी भोग्नुपर्ने अवस्था आएको छ।
द्वन्द्व सुरू भएयता तमिलनाडुका बन्दरगाहबाट जहाजको आवतजावत घटेको छ। अधिकारीहरूका अनुसार थुथुकुडीको वीओ चिदम्बरनार बन्दरगाह यसबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँबाट लुगा, घरायसी कपडा, खाना, अण्डा, धातु ढलाइ जस्ता कन्टेनर सामानहरू सिधै गल्फ देशहरूमा पठाइन्थ्यो।
फेब्रुअरी २८ मा वीओसी बन्दरगाहबाट करिब २५० कन्टेनर बोकेको ‘झोंग गु ताइ युआन’ जहाज समुद्रको बीचमै अड्किएको थियो । पछि त्यसले ती कन्टेनरहरू मुंबईको न्हावा शेवा बन्दरगाहमा उतारेको स्रोतहरूले बताएका छन्।
निर्यातकर्ताहरूका अनुसार कपडा लगायत सामान बोकेका कन्टेनरहरू अहिले थुथुकुडी वरपरका कन्टेनर फ्रेट स्टेशनमा अड्किएका छन् । यी सामानहरू रमजान पर्वअघि पश्चिम एशियाको बजारमा पुग्ने लक्ष्य राखेर पठाइएका थिए।
भीओसी बन्दरगाहले जहाजहरूले अस्थायी रूपमा सामान उतार्न चाहेमा भण्डारणका लागि १९ हजार वर्ग मिटर जमिन छुट्याएको छ । त्यस्तै, चेन्नई बन्दरगाहले पनि २० हजार वर्ग मिटर खुला स्थान राखेको छ ।
चेन्नई बन्दरगाह प्राधिकरणका अध्यक्ष एस. विश्वनाथनले निर्यातकर्ताहरूसँग उच्चस्तरीय बैठक बसेर अवस्था मूल्यांन गरिएको बताए । ‘यदि सामान छिट्टै बिग्रिने खालको छ भने त्यसलाई देशभित्रै बिक्री वा प्रयोगका लागि फिर्ता ल्याउन सकिन्छ,’ उनले भने । चेन्नई बन्दरगाहमा अहिले यस्तो अवस्था नआए पनि पश्चिमी बन्दरगाहहरूले पहिले यस्ता सामान घरेलु बजारतर्फ मोडेको उदाहरण रहेको उनको भनाइ छ ।
अधिकारीहरूले जहाजहरूलाई हर्मुज जलमार्ग प्रयोग नगरी अन्य वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ कि भनेर पनि खोजी गरिरहेका छन्।
यसैबीच, मर्स्क शिपिङ कम्पनीले खाडी देशतर्फ जाने वा खाडीबाट आउने नयाँ कार्गो बुकिङ अस्थायी रूपमा रोकेको छ। हाल उनीहरूले खाना र औषधि जस्ता अत्यावश्यक सामानको ढुवानीलाई प्राथमिकता दिइरहेका छन् ।
नेपालमा सवारी आयातमा ठूलो असर नपर्ने
द्धन्द्धका कारण नेपालमा भने सवारी आयातमा धेरै ठूलो असर पर्ने देखिँदैन । नेपालमा आयात हुने अधिकांश सवारी भारत र चीनबाट आउँछन् । अहिले चीनतर्फ कुनै अवरोध नरहेको र भारतबाट सडकमार्ग हुँदै आयात हुने भएकाले असर नपर्ने देखिन्छ ।
यद्यपि, थाइल्याण्ड, जापान, अमेरिका, युरोपबाट आयात हुने सवारी भने प्रभावित हुनसक्ने देखिन्छ । तर, यी देशबाट आयात हुने सवारीको संख्या अति न्यून अर्थात् ५ प्रतिशतभन्दा कम हुने गरेको छ ।

