यी हुन् १० महिनामा हजार यूनिटभन्दा बढी विक्री भएका ४ मोडल

काठमाडौं । सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्म विभिन्न कम्पनीले १४ हजार ४२० यूनिट प्यासेन्जर कार आयात गरेका छन् । यस वर्ष दशैं-तिहारको समयमा निकै राम्रो संख्यामा कार विक्री भएकाले अधिकांश कम्पनीले नेपाल ल्याएका सबै गाडी विक्री गरेका छन् ।

यो १० महिनाको अवधिमा विभिन्न कम्पनीका ४ मोडलले १ हजार यूनिट पार गरेका छन् । १ हजार यूनिट पार गर्ने मोडलमा मारुती सुजुकी ब्रेजा पहिलो स्थानमा रहेको छ । सिजी मोटोकर्पले १० महिनाको अवधिमा ब्रेजा १ हजार ३६३ यूनिट आयात गरेको भन्सार तथ्यांकले देखाउँछ ।

कम्पनीले दशैंअघि यी सबै गाडी विक्री गरिसकेको जनाएको छ । यस हिसावले हेर्दा ब्रेजा सन् २०२१ मा नेपालमा सर्वाधिक विक्री भएको मोडल हो ।

दोस्रो स्थानमा हुन्डाई क्रेटा रहेको छ । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १ हजार ३०४ यूनिट क्रेटा आयात गरेको भन्सार तथ्यांकमा देखिन्छ । कम्पनीले नयाँ जेनेरेशन क्रेटा १ हजार २५३ यूनिट र त्यसअघि विक्री हुँदै आएको पहिलो जेनेरेशन मोडल ५१ यूनिट आयत गरेको देखिन्छ ।

तेस्रो सर्वाधिक आयात भएको मोडल निसान म्याग्नाइट हो । यस अवधिमा निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले १ हजार १५० यूनिट म्याग्नाइट आयात गरेको देखिन्छ ।

कम मूल्य, आकर्षक फिचर, एसयूभी डिजाइनका कारण निसान म्याग्नाइट नेपाल आएदेखि नै ग्राहकको रोजाईमा पर्न सफल मोडल हो ।

एक हजार यूनिट आयात भएको चौथो मोडल हुन्डाईको ग्राण्ड आई १० नियोस हो । करिब १० महिनामा १ हजार ४८ यूनिट ग्राण्ड आई १० नियोस आयात भएको देखिन्छ । निकै सफल ह्याचव्याक कार प्रतिको आकर्षण अहिले पनि निरन्तर रहेको हो ।


Back_to_top