काठमाडौं । बीएमडब्लूको आधिकारीक वितरक हिमालय मोटरार्डले बीएस ६ इन्जिन सहितको जी ३१० आर र जी ३१० जीएसको बुकिङ खुल्ला गरेको छ । कम्पनीले अर्को हप्तासम्ममा विक्री सुरु गर्ने लक्ष्यसहित बुकिङ खुल्ला गरेको हो ।
बीएमडब्लूले भारतमा उत्पादन गरेको यी दुबै मोटरसाइकल बीएस फोर इन्जिनमा यसअघि नेपालमा विक्री हुँदै आएको थियो । ९ लाखदेखि ११ लाख ५० हजारसम्म मूल्य कायम भएर विक्री हुँदै आएको यो मोटरसाइकलको मूल्य भने बढ्ने पक्का छ । कम्पनीले यी मोटरसाइकलमा ७५ हजारदेखि १ लाख २५ हजारसम्म मूल्य बढाउन सक्ने हाम्रो अनुमान रहेको छ ।
‘अहिले सरकारले करको दर पनि बढाएको छ भने बीएस ६ टेक्नोलोजीको कारण त्यसैपनि मोटरसाइकल महंगो पर्ने नै भयो । भोलि बेलुकासम्ममा दुबै मोटरसाइकलको मूल्य टुङ्गाउने तयारीमा छौं’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

बीएमडब्लूले नयाँ मोटरसाइकलमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने राइड बाई वायर, एड्जस्टेबल लिभर र इन्जिन केसिङमा हाइलाइट प्रयोग गरेको छ । नयाँ मोडलमा थप कलर अप्सन पनि उपलब्ध रहने छन् ।
यी दुबै मोटरसाइकलमा समान ३१३ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले ९५०० आरपीएममा ३४ हसैपावर र ७५०० आरपीएममा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स स्पीड गियरबक्स रहेको छ ।

