काठमाडौं । विश्वका अधिकांश देशमा सवारी साधन मोडीफाई गर्ने कम्पनीहरु संचालनमा रहेका छन् । भारतमा पनि हरेक सहरमा ठूलो संख्यामा यस्ता मोडीफाई गर्ने हाउसहरु संचालनमा रहेको पाइन्छ ।

नेपालमा मोटरसाइकल मोडीफाई गर्ने कामलाई कानुनले बन्देज लगाएको छ । तर, पनि सवारी साधन चढ्ने मानिसले आफ्नो इच्छा अनुसारको टायर परिवर्तन गर्ने, एग्जस्ट पाइप फेर्ने, आवाज परिवर्तन गर्ने, हल्का अगाडिको भागमा स्टीकरको प्रयोग गर्ने जस्ता कार्य गरेको पाइन्छ ।

काठमाडौंमा रहेको बाइकर्स पोइन्ट एण्ड स्टीकर हाउस वर्कसपले पुरानो हिरो होन्डा स्प्लेन्डरलाई क्रुजर कन्सेप्टमा मोडीफाई गरेको छ । मोडीफाई गरेको मोटरसाइकल निकै यूनिक देखिएको छ ।

पुरानो मोटरसाइकललाई किनेर ल्याएर आफ्नो शौख पुरा गर्न मोडीफाई गरेको बताउँदै वर्कसप संचालक राजु तामाङ भन्छन्, ‘केही नयाँ गरौ भन्ने चाहना थियो । पुरानो ९ लटको हिरो होन्डा स्प्लेन्डर ल्याएर आफ्नै डिजाईनमा बनाएको हुँ । अहिले सबैले कस्तो राम्रो बनेछ भन्दा खुसी लाग्छ ।’

उनले मोटरसाइकलको फ्रेम र इन्जिन बाहेक सबै परिमार्जन गरेको बताए । मोटरसाइकलमा गोलो हेडल्याम्प र त्यसको बाहिर कलर फुल लाइटको प्रयोग गरिएको छ । सस्पेन्सनलाई यूनिक बनाउन गोल्डेन कलर दिइएको छ । फराकिलो ह्याण्डलबार, इन्धन ट्याङभन्दा निकै तल दिइएको लेदर र्याप सिट, पछाडि दिइएको एलइडी लाइट, निकै छोटो एग्जस्ट, स्पोक ह्वील, ह्वीलको बाहिर दिइएको निलो कलरले बाइकलाई निकै आकर्षक बनाएको छ ।

नेपालको कानुनले यसरी मोटरसाइकल मोडीफाई गर्न बन्देज लगाएपनि आफ्नो शौख पुरा गर्न यदाकदा मोडीफाई हुने गरेको छ । यसलाई मोडीफाई गर्ने राजले यसलाई आफ्नो ग्यारेजमा थन्काएर राख्ने बताए ।


