साझाको २० वटा चार्जिङ स्टेशनसहित ४० वटा इलेक्ट्रीक बस, माघबाट संचालनमा आउने

काठमाडौं । चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनीले साझा यातायातका लागि ४० वटा विद्युतीय बस निर्माण सुरू गरेको छ । गत असोज २२ गते साझा यातायात र चीनको सीएचटीसी कम्पनी बीच सम्झौता भएपछि बस निर्माण सुरू भएको हो ।

नान्जिनले माघ महिना भित्रै ३ वटा विद्युतीय बस नेपाल पठाउने छ । त्यसको लागि साझा यातायातले एलसी खोल्ने लगायतका प्रक्रिया सुरु गरिसकेको कार्यकारी निर्देशक भुषण तुलाधार जानकारी दिए ।

‘अहिले चिनियाँ कम्पनीले बस बनाउन सुरू गरिसकेको छ, माघ महिना भित्र ३ वटा बस परीक्षणका लागि ल्याउने छौं, त्यसपछि अन्य बस पनि ल्याउने छौं, चालु आर्थिक वर्षमा सबै बस आउँछ,’ तुलाधारले भने ।

साझाले ल्याउने बस ८.५ मिटर लामो हुनेछ । २६ सिट क्षमताको ४० वटा बस साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँमा खरिद गर्न लागेको हो । उक्त कम्पनीले बसको लागि आवश्यक सर्भिस सुविधा ५ वर्षको लागि निःशुल्क उपलब्ध गराउने सम्झौता उल्लेख भएको साझा यातायातले जनाएको छ ।

एक पटकको फुल चार्जमा २०० किलोमिटर गुड्न सक्ने यी बसको लागि आवश्यक २० वटा चार्जिङ स्टेशन पनि नान्जिङले नै निर्माण गर्ने छ ।


Back_to_top