काठमाडौं । कोभिड-१९ को विश्वब्यापी असर र सेमीकन्डक्टरको उत्पादन र सप्लाईमा समस्या आएसँगै सन् २०२०, २०२१ र २०२२ मा उत्पादन र बिक्रीमा कटौती भएको कार बजार पुनः लयमा फर्केको छ । कार बजार पुरानै लयमा फर्केको विषयलाई सन् २०२३ को जनवरीदेखि जुन अन्तिमसम्मको बिक्रीले पुष्टी गर्छ ।
नेपालमा भने सन् २०२१ अन्तिमदेखि चलिरहेको आर्थिक मन्दीले नयाँ सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । त्यसैले विश्वब्यापी कार बजारमा भएको वृद्धिको अनुभव हामीले यहाँ गर्न पाएका छैनौं ।
सन् २०२३ को पहिलो छ महिनामा कारको बिक्रीमा राम्रो वृद्धि भएको कुरालाई यूरोप, अमेरिका, भारत, ब्राजिल र विश्वकै ठूलो कार बजार चीनमा भएको बिक्री तथ्यांकले पुष्टि गर्छ ।
यी हुन् विश्वका ६ ठूला कार बजार
सन् २०२३ को पहिलो ६ महिनाको बिक्री तथ्यांक अनुसार चीन विश्वकै ठूलो कार बजारमा फराकिलो अन्तरसहित अगाडि छ । यस वर्षको पहिलो छ महिनामा चीनमा १ करोड ११ लाख ४३ हजार यूनिट प्यासेन्जर कार बिक्री भएको छ । जुन अघिल्लो वर्षको ६ महिनाको तुलनामा ९.२ प्रतिशतले बढी हो ।
विश्वकै दोस्रो ठूलो कार बजार अमेरिका हो । यहाँ पीकअपको बिक्री धेरै हुने भएको कारण यहाँको तथ्यांकमा पीकअप पनि जोडिएको हुन्छ । यस वर्षको ६ महिनामा अमेरिकामा ७६ लाख ५८ हजार २०० यूनिट प्यासेन्जर कार बिक्री भएको छ । अमेरिकामा कारको बिक्री १२.९ प्रतिशतले बढेको हो ।
सूचीको तेस्रो स्थानमा यूरोप आउँछ । बेलायतसहित यूरोपभर बिक्री भएको कारको संख्या ६५ लाख ८८ हजार ९०० यूनिट छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा १७.६ प्रतिशतले बढी हो । यूरोपमा विद्युतीय कारको बिक्री निकै राम्रो संख्यामा भएको छ ।
धेरै कार बिक्री गर्ने देशको सूचीमा जापान र भारतले पनि राम्रै संख्यामा प्रतिस्पर्धा गरिरहेका छन् । अघिल्लो वर्ष जापानलाई उछिनेको भारत यस वर्षको ६ महिनामा केही हजार यूनिटले जापानभन्दा पछाडि छ । यो वर्ष जापानमा १९.५ प्रतिशतले कारको बिक्री बढाउन सफल भएको हो । तर, भारतमा भने १० प्रतिशतको मात्रै वृद्धि छ ।
यो वर्षको ६ महिनामा जापानले २० लाख ४७ हजार ७०० यूनिट कार बिक्री गर्दा भारतले २० लाख १४ हजार ४०० यूनिट मात्रै कार बिक्री गर्न सफल भएको छ ।
अर्को उदाउदो अर्थतन्त्र ब्राजिलमा पनि ९.६ प्रतिशतले कारको बिक्री बढेको छ । ब्राजिलमा ६ महिनाको अवधिमा ९ लाख ३४ हजार ७०० यूनिट कार बिक्री भएको हो ।


