काठमाडौं । माघ महिनामा काठमाडौं उपत्यकाबाट २२९ युनिट सवारी साधन हराएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माघमा एउटा चारपाँग्रे र २२८ वटा दुईपाँग्रे (मोटरसाइकल/स्कुटर) हराएका हुन् ।
ती सवारी साधनहरू उपत्यकाका विभिन्न ठाउँमा पार्किङ गरी राखेका स्थानबाट चोरी भएका हुन् ।
कार्यालयका अनुसार माघमा विभिन्न समयमा हराएका मध्ये ६७ वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
त्यस्तै, ट्राफिकले सवारी साधन चोरीमा संलग्न दुई जनालाई पक्राउ गरी थप अनुसन्धान तथा मुद्दा प्रक्रियाका लागि प्रहरीमा बुझाएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा अनुरोध समेत गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

