काठमाडौं । नेपालमा उपलब्ध दुई पाङ्ग्रे सवारीसाधनको ब्राण्ड नै करिब तीन दर्जन बढी भइसकेका छन् । त्यसमा पनि विद्युतीय साधनको आयात बढ्न थालेसँगै ब्राण्डको संख्या बढ्दै गएको छ ।
अहिले बजारमा २ लाखदेखि २० लाखसम्म मूल्यका धेरै मोटरसाइकल पाइन्छ । हरेक मानिसले आफ्नो आवश्यकता अनुसारको मोडल छनोट गर्ने हुँदा सबै किसिमका साधन नेपालमा विक्री हुने गरेको छ । त्यसमा पनि युवा पुस्ता लक्षित डिजाइनमा आएका मोटरसाइकल धेरैको रोजाईमा पर्छ ।
अहिले चल्तीमा रहेका ब्राण्ड मध्ये बजाज, यामाहा र होन्डाले विक्री गर्ने ५ लाख हाराहारी मूल्यका मोटरसाइकल युवाको रोजाईमा पर्ने मोडल हुन् । अहिले पाँच लाख खर्च गरेर मोटरसाइकल किन्न सक्ने युवाको रोजाईमा सबैभन्दा धेरै पर्ने बजाज पल्सर एन २५०, यामाहा एमटी १५ र होन्डा हर्नेट २.० मोडल हुन् ।
विशेषगरी विगत २५ देखि ५५ वर्षसम्मको ब्राण्ड इतिहास नेपाली बजारमा नै बनाएका यी अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनमा धेरै यूवाको आकर्षण हुनु स्वभाविक हो । देशको सबै सहरी क्षेत्रमा विक्री केन्द्र हुनु, सर्भिस नेटवर्क र पार्टस्को उचित ब्यवस्थापन गर्नु र दोस्रो बजारमा विक्री गर्दा पनि राम्रो रिसेल भ्यालु आउने कारण यी ब्राण्डका उत्पादन प्रति आम उपभोक्ताको विश्वास बढ्दै गइरहेको छ ।
इन्जिनमा धेरै फरक
इन्जिनको हिसावले यी तीनवटै मोडलमा फरक पाउन सकिन्छ । इन्जिन, पावर र पर्फमेन्समा पल्सर एन २५० अगाडि देखिन्छ । कम्पनीले यसमा २४९ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले २४.५ पीएस पावर र २१.५ एनएम टर्क प्रदान गर्छ ।
यामाहा एमटी १५ मा १५५ सीसी क्षमताको इन्जिन उपलब्ध भएपनि यसको पावर निकै राम्रो छ । यसमा रहेको इन्जिनले अधिकतम १८.५ पीएस पावर र १३.९ एनएम टर्क प्रदान गर्छ ।
होन्नडा हर्नेट २.० मा १८४ सीसी क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम १६.३१ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्छ । पावरको हिसावले सबैभन्दा कम हर्नेट २.० मा छ ।
उस्तै मूल्य
इन्जिनमा ब्यापक फरक भएपनि यी ३ वटै मोटरसाइकलको मूल्य भने लगभग उस्तै छन् । यी चारबाट मध्ये सबैभन्दा महंगो मोडल यामाहा एमटी १५ हो । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले यसको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
त्यसैगरी अर्को महंगो मोडलको रुपमा होन्डा हर्नेट २.० रहेको छ । होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले यसको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ कायम गरेको छ ।
इन्जिन ठूलो भएपनि सबैभन्दा सस्तो मोडल पल्सर एन २५० रहेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ४ लाख ९४ लाख ९०० रुपैयाँ कायम गरेर विक्री वितरण गर्दै आएको छ ।
ह्वील र सुरक्षा फिचर
होन्डा हर्नेट २.० मा अगाडि र पछाडि नै १७ इन्चको ह्वील पाउन सकिन्छ । सुरक्षाको लागि कम्पनीले यसको अगाडि चक्कामा २७६ एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक उपलब्ध छ । कम्पनीले ब्रेकिङलाई राम्रो बनाउन यसमा सिंगल च्यानल एबीएस दिएको छ ।
बजाज पल्सर एन २५० मा पनि अगाडि र पछाडिका दुबै ह्वील १७ इन्चकै पाउन सकिन्छ । तर, यसको डिस्क साइज भने हर्नेटको तुलनामा ठूलो छ । एन २५० को अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । यसमा डबल च्यानल एबीएस रहेको छ ।
त्यसैगरी, यामाहा एमटी १५ मा पनि १७ इन्चकै ह्वील छ । यसको डिस्क साइज अगाडि २८२ एमएम र पछाडि २२० एमएम रहेको छ । यामाहा एमटी १५ मा सिंगल च्यानल एबीएस रहेको छ ।


