काठमाडौं । उपत्यका ट्राफिक प्रहरी प्रमुख परिवर्तन भएसँगै चेक जाँचलाई तिब्रता दिइएको छ । उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अहिले प्रहरी नायव निरिक्षक मीरा चौधरीको कमाण्डमा रहेको छ ।
नयाँ नेतृत्वसँगै सडकमा ट्राफिकको उपस्थिति निकै राम्रो रहेको छ भने जाम पनि तुलनात्मकरुपमा कम भएको अनुभूती सडक प्रयोगकर्ताले गर्न थालेका छन् ।
सडक जाम गर्न लेन अनुशासन पालना गर्नु पर्ने बताउँदै सबै किसिमका सवारी साधनको चेकिङलाई तिब्रता दिइएको प्रमुख चौधरीले बताइन् ।
अहिले ट्राफिक प्रहरीले विहानैदेखि मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसै) परिक्षण सुरु गरेको छ । यसअघि राती ८ बजेपछि मात्रै मापसे चेकिङ हुन्छ भन्ने चालकको दिमागमा बसेको कारण मापसे गर्ने बढेको भन्दै शंकाको आधारमा विहानैदेखि मापसे परिक्षण सुरु गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
लागु पदार्थ चेकिङ भने दुई दिनअघि सोमबारबाट सुरु भएको हो । प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको प्रबक्ता रोजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
अहिले तत्कालको लागि ट्रिपर, बस र अन्य सवारीलाई केन्द्रित गरेर नमुना परीक्षण सुरु भएको बताउँदै प्रबक्ता भट्ट भन्छन्, ‘अब यसलाई निरन्तरता दिइन्छ । यात्रुको गुनासोपछि यसलाई सुरु गरिएकोले यसले दुर्घटना घटाउने छ ।’
टीएचसी किटमा चालकको पिसाव राखेर परिक्षण गरिन्छ । यसरी जाँच गर्दा चालकले गाँजादेखि सबै खालका लागू औषधको सेवन गरेको छ वा छैन पत्ता लाग्नेछ ।

