काठमाडौं । अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिड्शन महंगो मोटरसाइकल उत्पादनको लागि परिचित ब्राण्ड हो । आफ्नो लामो इतिहासमा कम्पनीले थुप्रै महंगो मोडल तयार गरेको छ ।
हार्ले चढ्ने धेरै मानिसको सपना भएपनि मूल्यकै कारण पुरा हुन नसक्ने अवस्था मध्यनजर गर्दै कम्पनीले चिनियाँ बजारमा ‘एक्स ५००’ मोटरसाइकल विक्री सुरु गरेको हो । यो मोडल चिनियाँ बजारमा हार्लेको इन्ट्री लेवल मोटरसाइकल हो ।
हार्ले डेभिड्शनले चिनियाँ कम्पनी क्यूजे मोटर्ससँगको सहकार्यमा यसअघि ल्याएको एक्स ३५० र अहिले बजारमा आएको एक्स ५०० मोटरसाइकल उत्पादन गरेको हो । कम्पनीले इन्ट्री लेवल मोटरसाइकल उत्पादनका लागि विभिन्न देशका स्थानिय उत्पादकसँग सहकार्य गर्दै आएको छ ।
कम्पनीले ५०० सीसी क्षमताको एक्स ५०० को मूल्य ४४ हजार ३८८ यूवान मूल्य निर्धारण गरेर विक्री सुरु गरेको हो । त्यो भनेको नेपाली रुपैयाँमा झण्डै ८ लाख ५० हजार हो ।
क्यूजे मोटर्सले तयार पारेको हार्ले एक्स ५०० मा बेनेली लियन्सिनो ५०० को इन्जिन प्रयोग भएको छ । यसमा ५०० सीसी प्यारलल ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ४८ बीएस पावर तथा ४६ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा इन्जिनका अलावा अन्य कम्पोनेन्ट समेत लियन्सिनो ५०० बाट लिइएको छ । १२४ एमएम ट्राभल यूएसडी फर्क, इन्जिन क्याङ्ककेस, फ्यूल ट्याङ्क, अलोय ह्वील, डबल ब्यारल एक्जष्ट, क्यालीपर, स्वीच एवल एबीएस जस्ता फिचर लियन्सिनोबाट लिइएको हो ।

