चालु वर्षमा दर्ता भए थप ४ एसेम्बल उद्योग, कुनले के उत्पादन गर्छन् ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा थप ४ वटा सवारी साधन एसेम्बलिङ प्लाण्ट दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार चालु आवमा दुईपाँग्रे, तीनपाँग्रे र चारपाँग्रे सवारी साधन उत्पादन गर्ने ४ वटा उद्योग दर्ता भएका हुन् ।

चालु आवमा दर्ता भएको एसेम्बल उद्योग मध्ये ३ वटा विदेशी र एउटा स्वदेशी लगानीमा दर्ता भएका भएका हुन् । विभागका अनुसार मकवानपुरमा २ वाट, ललितपुरमा र चितवनमा ११ वटा एसेम्बली उद्योग दर्ता भएका हुन् ।

चालु आवमा दर्ता भएका उद्योगको चुक्ता पूँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । ती उद्योगहरू संचालनमा आएपछि ४३५ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

चितवनमा शुन्दा इलेक्ट्रीक भेहिकल कम्पनी दर्ता भएको छ । यस उद्योगले वार्षिक २५० वटा थ्री ह्वीलर र ५५० वटा दुईपाँग्रे विद्युतीय सवारी साधन एसेम्बलिङ गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, मकवानपुरमा टीबीडी इन्फ्राटेक र डबल विंग्स इलेक्ट्रीक भेहिकल प्रालि दर्ता भएका छन् । टीबीडीकले वार्षिक ७ हजार विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्य राखेको छ । जसमा २ हजार युनिट विद्युतीय भ्यान र ५ हजार विद्युतीय मोटरसाइकल/स्कुटर उत्पादन गर्ने भएको हो ।

त्यस्तै, डबल विंग्स इलेक्ट्रीकले पनि विद्युतीय सवारी साधन मात्र उत्पादन गर्ने भएको छ । कम्पनीले वार्षिक ९०० युनिट इलेक्ट्रीक मोटरसाइकल/स्कुटर, २५० कार/भ्यान र ३०० युनिट थ्री ह्वीलर उत्पादन गर्ने जनाएको छ ।

ललितपुरमा दर्ता भएको लि हान ईभी इन्डस्ट्रीले वार्षिक ६०० युनिट इलेक्ट्रीक दुईपाँग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो समय नेपालमा एसेम्बल उद्योग दर्ता हुने क्रम ह्वात्तै बढेको छ । पछिल्लो एक दशकमा मात्र साढे २ दर्जन बढी एसेम्बल उद्योग दर्ता भएका छन् । जसमा आधादर्जन बढिले अहिले सवारी उत्पादन गरिरहेका छन् ।

सरकारले एसैम्बल उद्योगलाई प्रोत्साहन गर्न विभिन्न सुविधा दिएपछि लगानीकर्ताहरू आकर्षित भएका हुन् । सरकारले हाल अनएसेम्बल्ड मोटरसाइकल तथा स्कुटर आयातमा भन्सार शुल्कमा २५ प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ ।

३४ बढी एसेम्बल उद्योग दर्ता भएका छन् । सरकारको प्रोत्साह नीतिले धमाधम एसेम्बल प्लाण्ट हुन थालेका हुन् । नेपालमै सवारी उत्पादन गर्दा लागत घट्ने र राज्यबाट सुविधा पनि पाइने भएपछि व्यवसायीहरू आर्कषित भएका हुन् ।


Back_to_top