काठमाडौं । भारतमा टीभीएस मोटर्सले आफ्नो इलेक्ट्रीक स्कुटर आइक्यूबको मूल्य घटाएको छ । कम्पनीले आइक्यूबको सबै भेरियन्टमा मूल्य घटाएको हो ।
कम्पनीले २०२५ मोडल स्कुटर भारतीय बजारमा सार्वजनिक गर्दै २६ हजार ५३९ भारतीय रुपैयाँ (४२ हजार ४६२ रुपैयाँ) सम्मले मूल्य कटौती गरेको हो ।
कम्पनीले भारतीय बजारमा बिक्री गर्दै आएको २.२ किलोवाट आवर ब्याट्री भेरियन्टमा २ हजार ८६५ रुपैयाँ, ३.५ किलोवाट आवर ब्याट्री भेरियन्टमा १० हजार ६३५ भारतीय रुपैयाँले मूल्य घटेको छ ।
त्यस्तै, एस भेरियन्टमा ११ हजार ७७८ रुपैयाँ, एसटी भेरियन्टमा ३.५ किलोवाट आवर र ५.३ किलोवाट आवरमा क्रमशः १० हजार ६२० रुपैयाँ र २६ हजार ५३९ रुपैयाँ मूल्य घटाएको हो ।
नेपाली बजारमा टीभीएस मोटर्सका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले २.२ किलोवाट भेरियन्टको स्कुटर बिक्री गर्दै आएको छ ।
टीभीएस आइक्युबमा आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री रहेको छ । आइक्युबको टप भेरियन्टले २१२ किलोमिटरसम्म रेन्ज दिन्छ । नेपालमा बिक्री हुने २.२ किलोवाट आवर ब्याट्री भेरियन्टले भने १०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।
यसमा प्रयोग गरिएको ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
आइक्यूवमा ४.६ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ ।
टीभीएस आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड पाउन सकिन्छ ।


