काठमाडौं । युकेएड सक्षमसँगको सहकार्यमा १४ बाणिज्य बैंकले ५७ स्थानीय तहमा शाखा बिस्तार गर्ने योजना अनुरुप काम सुरु गरेका छन् ।
यसरी शाखा बिस्तार हुनलागेका स्थानीय तहमा सडकबाटोको समेत पुग्न सकेको छैन ।
कार्यक्रमबारे जानकारी दिर्दै सक्षमका टिम लिडर बलजित भोहराले वित्तीय पहुँच बिस्तारमा सक्षमले खेलेको भूमिका र छनोट गरिएका क्षत्रको पूर्वाधर र कठिनाइका बारेमा आफ्नो धारणा राखेका थिए ।
यूकेएड सक्षमले कर्णाली प्रदेश तथा प्रदेश ५ र ७ का गाउँपालिकाहरूमा ५७ वटा नयाँ बैंक शाखाहरू स्थापना गर्ने उद्देश्यले १४ वटा वाणिज्य बैङ्कहरूसँग साझेदारी गरेको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले भने, ‘केन्द्रीय बैङ्कले गत वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूलाई आफ्ना शाखा विस्तार गर्न प्रेरित गरेको थियो र यस किसिमका पहलहरूले बैंकहरूले वास्तवमै आफ्ना बाचाहरू पुरा गरिरहेका छन् भन्ने पुष्टि गर्छ । देशभरीका स्थानीय तहहरूमा आफ्ना शाखाहरूको उपस्थिति जनाएर वर्तमान समयको आवश्यकतालाई सम्बोधन गर्न बैङ्किङ समुदायले पहल गरेको देख्दा हामी हर्षित छौं ।’
कुन ठाँउमा कुन बैंक ?
कृषि विकास वैङ्कले सातवटा शाखा विस्तार गर्ने भएको छ । उसले प्रदेश नं ७ को बैतडीको सिगस गाउँपालिका, प्रदेश नं ६ को जाजरकोट जिल्लाको बारेकोट, जुनीचण्डे तथा कुशे गाउँपालिकामा आफ्नो शाखा विस्तार गर्ने भएको हो ।
त्यस्तै कर्णाली प्रदेशको कालिकोट जिल्लामा रहेको महाबइ, कालिका तथा नरहरिनाथ गाउँपालिाकामा शाखा विस्तार गर्ने भएको हो ।
सिटिजन्स बैंकले प्रदेश नं ७ को कैलाली मोनयाल तथा अछामको ढकारी गाउँपालिकामा शाखा विस्तार गर्ने भएको छ । पाँच ठाउँम शाखा विस्तार गर्ने भएको बैंकले, कर्णाली प्रदेशमा पर्ने हुम्लाको नांखा, प्रदेश नं ५ स्थित प्युठानको झिमरुक तथा रुकुमको भुमे गाउँपालिकामा शाखा विस्तार गर्ने घोषणा गरेको छ ।
एभरेष्ट बैंकले प्रदेश नं ७ को बजाङस्थित कान्डा, शुर्मा तथा तालकोट गरि तीन गाउँपालिकामा शाखा विस्तार गर्ने भएको छ ।
हिमालय बैंकले प्रदेश नं ७ स्थित बाजुराको छेडेदह, स्वामी कार्तिक तथा पाण्डब गुफा, प्रदेश नं ६ को सल्यान स्थित कुमाख मालिका गाउँपालिकामा गरि चार स्थानमा शाखा विस्तार गर्न लागेको छ ।
जनता बैंकले कर्णाली प्रदेशको हुम्ला जिल्लाको ताजाकोट, आदनचुली तथा चनखेली गाउँपालिकामा शाखा विस्तार गर्ने भएको छ । त्यस्तै प्रदेश नं ५ स्थित रोल्पाको सुखीदाहा तथा दुइखोली गाउँपालिकामा गरि ५ स्थानमा शाखा विस्तार गर्ने बताएको छ ।
त्यस्तै लक्ष्मी बैंकले प्रदेश नं ७ दको दार्चुलाको लेकाम, ६ स्थित सल्यानको दौरचौर तथा प्रदेश ५ स्थित रुकुमको बाफिकोटमा शाखा संचालनमा ल्याउने भएको छ ।
माछापुच्छ«े बैंकले दार्चुलाको अपि र वायस गाउँपालिकामा शाखामा शाखा विस्तार गर्ने जनाएको छ ।
नबिल बैङ्कले अछामको तुमखण्ड, रामारोशन, वैतडीको पन्चेश्वर, डोटीको सायल, कालिकोटको पलाता र पछलझरना तथा रोल्पाको लुङ्ग्री गाउँपालिका गरि ७ स्थानमा शाखा विस्तार गर्न लागेको छ ।
नेपाल बैंकले बाजुराको त्रिवेणी नगरपालिका, डोल्पाको कैके तथा जगडुल्ला,र रोल्पाको लुङ्ग्री गाउँपालिकामा शाखा विस्तार गर्ने जनाएको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले बझाङको केदार स्यु गाउँपालिका, दार्चुलाको दुहु नगरपालिका, जुम्लाको हिमाल तथा प्युठानको नाउँबहिनी गाउँपालिका गरि ४ स्थानमा शाखा विस्तार गर्ने भएको छ ।
एनआइसी एसियाले दाङको राजपुर तथा जाजरकोटको त्रिवेणी गाउँपालिकामा शाखा संचालनमा ल्याउँने भएको छ ।
प्रभु बैंकले डडेलधुराको नवदुर्गा, डोल्पाको शेफोक्शुण्डो तथा हुम्लाको कार्पुनाथ गाउँपालिकामा शाखा विस्तार गर्ने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले बजाङको मास्ता, डोल्पाको चक्र ताङस्योङ, मुइकेछुला तथा डोल्पो गाउँपालिका, मुगुको सोरु नगरपालिका र मुगुकर्माराग गाउँपालिका गरि ६ स्थानमा शाखा विस्तार गर्ने जनाएको छ । सानिमा बैंकले बाजुराको कालिकोटको हिमाली नगरँपालिका तथा कालिकोटको सानी त्रिवेणी गाउँपालिकामा शाखा विस्तार गर्न लागेको हो ।

