काठमाडौं । भारतीय बजारमा ३ महिना अगाडि सार्वजनिक गरिएको मारुति सुजुकीको उत्पादन ‘थर्ड जेनरेसन स्विफ्ट’ नेपाली बजारमा आउने भएको छ ।
पछिल्लो एक दशक दक्षिण एसियाली बजारमा अग्रस्थानमा रहँदै आएको मारुति सुजुकी स्विफ्ट थर्ड जेनरेसन नेपाली बजरमा जेष्ठ महिनाको अन्त्यदेखि उपलब्ध हुने मारुति सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले जानकारी दिएको छ ।
सन् २००५ मा पहिलो पटक बजारमा आएको यो कार १२ बर्षको समयमा विश्वभरी १७ लाखभन्दा बढि बिक्री भईसकेको छ । सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र नयाँ केटुएल्भ इन्जिनसहित लञ्च भएको थियो ।
इन्जिन
स्विफ्ट थर्ड जेनरेशनमा आई पुग्दा यसको च्यासीस र डिजाईनमा समेत धेरै परिमार्जन गरिएको छ । १२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिन दिइएको यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ ।
आउटलुक
कारको अघिल्लो भागमा अलब्ल्याक ग्रिल र नयाँ सेपको हेडलाईट दिइएको छ, जसमा यलईडी डेटाइम रनिङ्ग लाईट तथा प्रोजेक्टर हेडल्याम्प जडान गरिएको छ । पछाडि रहेको सिसेप एलईडी टेललाईट र बम्परमा नयाँ सेप दिइएको छ । डबलटोन डायमण्ड कट एलोय ह्विल, पिलर डोरह्यान्डल र फ्लोटीङ्ग रुफले कारलाई अझ स्पोर्टी देखाएको छ ।
इन्टेरिएर
यसमा एप्पल कार प्ले तथा एनड्रोइड अटो दुबै सपोर्ट गर्ने टर्चस्क्रीन इन्फोटेन्डमेन्ट सिस्टम दिइएको छ । नयाँ डिजाइनको डियुलटोन कलरमा ड्यास बोर्ड र स्टेरिङ्ग ह्वील सज्जाइएको छ । ग्लसी तथा म्याट मेटीरीयलको कम्बीनेसनले कारको भित्री डीजाईनलाई उत्कृष्ट लुक्स दिएको छ ।
यसमा २६८ लिटरको बुट स्पेस रहेको छ, जुन पुरानो जेनेशनको स्विफ्ट भन्दा ५८ लिटर बढी स्पेश हो ।
कस्तो छ च्यासीस ?
थर्ड जेनरेसन सिग्नेचर डिजाइन रहेको यो कारको लागि नयाँ ‘हार्टटेक’ च्यासीस प्ल्याटफर्ममा बनाइएको छ । जसको निर्माणमा हाइटेन्सिल स्टील प्रयोग भएको हुन्छ । यो निकै लाईट वेट तर बलियो प्रकारको हुन्छ, जसले कारलाई हलुका तथा थप बलियो क्र्यास सेफ्टी बनाउने काम गर्छ ।
यसको प्रयोगले चलाउन आरामायी, छिट्टै रोकिने र मोडहरुमा अझ सजिलो हुने छ भने, फ्युलको खपतसमेत कम गर्छ ।
भेरिएन्ट
सुरुमा नेपाली बजारमा दुई भेरीयण्ट ‘भी यक्स आई’ र ‘जेड यक्स आई’मा उपलब्ध हुने छ । नयाँ मारुती सुजुकी स्विफ्ट पेट्रोल इन्जिनमा म्यानुअल ट्रासमिसनमा मात्र उपलब्ध हुनेछ ।
सेफ्टी फिचर
सुरक्षालाई विशेष चासो दिएर निर्माण गरिएको यस कारको नेपाल आउने दुबै भेरिएन्टमा डियुल एयर ब्याग दिइएको छ । साथै अगाडिको बम्परमा विशेष प्रकारको मेटिरियल्स् तथा डिजाइनको प्रयोगबाट पैदलयात्रीको सुरक्षालाई समेत ध्यान दिइएको छ । एबिएस, इबिडीलगायतका सुरक्षा उपकरण जडान भएका छन् ।
मूल्य
कम्पनीले नेपाली बजारमा यो कारको प्रिबुकिङ्ग सुरु गरेको छ । पहिलो १०० जनालाई विशेष प्याकेजको ब्यवस्थासहित बुकिङ लिन सुरु गरिएको यो कारको मूल्य तय भइसकेको छैन । यद्यपी सुरुवाति मुल्य भने ३० लाखभन्दा कम रहने जानकारी मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले जनाएको छ ।