काठमाडौं । भारतमा अहिले सबैभन्दा धेरै चर्चा ह्यारीयर ईभीको हुँदैछ । अटोमोबाइल क्षेत्रमा निकै आक्रमक रहेको भारतमा टाटाले पहिलो पटक बनाएको फोर ह्वील ड्राइभ एसयूभी भएकै कारण यसको चर्चा चुलिएको हो ।
सन् २०१८ मा ल्याण्ड रोभरले उत्पादन गरेको ‘रेन्ज रोभर स्पोर्ट’ले गरेको ड्रागन च्यालेन्ज अटो क्षेत्रमा निकै चर्चित छ । अहिले त्यस्तै चर्चा टाटा ह्यारियर ईभीको ‘इलाफेन्ट रक च्यालेन्ज’को छ । त्यसो हुनुको मुख्य कारण ह्यारीयर ईभीको डीएनए ‘ल्याण्ड रोभर’बाट आयात भएको मानिन्छ ।
ह्यारीयर ईभीमा पहिलो फोर ह्वील ड्राइभ फिचरसँगै थुप्रै नयाँ सेग्मेन्ट फस्ट फिचर छन् । त्यसैले ह्यारीयर ईभीमा भएका केही ‘फस्ट इन क्लास फिचर’को बारेमा हामीले यहाँ चर्चा गरेका छौँ ।
पावरफुल ड्युल मोटर सेटअप
टाटाले ह्यारीयर ईभीमा अगाडि र पछाडि दुईवटा मोटर दिएको छ । यसको सहयोगमा ह्यारीयरलाई भारतमा बनेको पहिलो अल ह्वील ड्राइभ ईभी मोडल बनाएको छ ।
टाटाले ह्यारीयर ईभीको पछाडि ह्वीलमा १७५ किलोवाट र अगाडि ११५ किलोवाटको मोटर छ । दुवै मोटरको संयुक्त पावर ३९० एचपी हुन्छ । यसले ५०४ न्युटन मिटर टर्क प्रदान गर्छ ।

टाटाले यसको एक्सलरेसन पनि उत्कृष्ट रहेको जनाएको छ । यसलाई ६.३ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा पुर्याउन सकिन्छ । ह्यारीयर ईभीको स्ट्याण्डर्ड भेरियन्टमा १७५ किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ ।
अफरोड क्षमता
ह्यारीयर ईभीमा टाटाले ‘क्वाड ह्वील ड्राइभ’ दिएको छ, त्यसैको मद्दतले यसको रोड पर्फमेन्स राम्रो बनाएको छ । अगाडि र पछाडिका ह्वील ड्राइभले संयुक्त रूपमा काम गर्ने भएकोले अफरोडमा चलाउन निकै सहज बनाएको छ ।
टाटाले ह्यारीयर ईभीमा २५.३ डिग्री अप्रोच एङ्गल, २६.४ डिग्री डिपार्चर एङ्गल र १६.६ डिग्री ब्रेक ओभर एङ्गल दिएको छ । अफरोड जानको लागि यसमा स्याण्ड, मड रट्स, स्नो/ग्रास, रक क्रल र कसटुम मोड दिइएको छ ।
समग्रमा यसमा ६ ड्राइभिङ मोड पाउन सकिन्छ । त्यही अफरोड क्यापाबिलिटीका कारण ह्यारियर ईभी केरलाको इलेफेन्ट रक चढ्न सफल पहिलो भेहिकल भएको हो ।
अल्ट्रा ग्लाइड सस्पेन्सन
टाटा मोटर्सले नानोपछि पहिलो पटक ह्यारीयर ईभीमा पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन दिएको छ । टाटाले यो फिचरलाई अल्ट्रा ग्लाइड सस्पेन्सन भनेको छ । मल्टिलिङ्क सेटअप रहेको कारण सहज ह्याण्डलिङ पाउन सकिन्छ । फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्परको मद्दतले यात्रुहरूलाई निकै सहज यात्रा गराउने टाटाको दाबी छ ।

नियो क्यूएलईडी इन्फोटेनमेन्ट स्क्रीन
टाटा मोटर्सले ह्यारीयर ईभीको क्याबिन प्रिमियम बनाउन हाइ–क्वालिटी डिस्प्ले दिएको छ । सामसुङले बनाएको नियो क्यू एलईडी टचस्क्रीन डिस्प्ले यसमा पाउन सकिन्छ । १४.५३ इन्चको उक्त स्क्रीनमा क्वान्टम लेयर प्याक दिइएको छ । जसले हाई कन्ट्रास डिस्प्ले हुनुका साथै एचआरडी पर्फमेन्स दिनेछ । हर्मनको डिस्प्ले र साउण्ड सिस्टमले म्युजिकको लागि उत्कृष्ट बनाएको छ ।
५४० डिग्री क्यामरा
टाटाले ह्यारीयर ईभीमा पहिलो पटक ३६० डिग्री सराउण्ड भ्यू क्यामराभन्दा माथिको ५४० डिग्री भ्यू सिस्टम दिएको छ । यो सिस्टमले गाडीको तल्लो भागमा रहेको वस्तु तथा गुड्दा सडकको अवस्था पनि देखाउँछ ।
डीभीआर फङ्सन
ह्यारियर ईभीमा इलेक्ट्रीक आइआरभीएम दिएको छ । यो आइआरभीएममा अगाडि र पछाडि क्यामेराको डिस्प्ले प्रोजेक्ट गर्न सकिन्छ । यसको मुख्य फाइदा भनेको पछाडि बुटमा रुफसम्म लगेज राखे पनि पछाडिको भिजन हेर्न सकिनेछ ।

यसमा आइआरभीएमको ठिक अगाडि डिजिटल भिडियो रेकर्डर समेत दिइएको छ । यसमा रहेको डीभीआरले गाडीको अगाडिका दृश्य निरन्तर भिडियो रेकर्ड गरिरहेको हुन्छ । ड्यासक्याममा जस्तै डीभीआरको रेकर्ड क्यूआर कोड स्क्यान गरी सजिलै डाउनलोड गर्न सकिन्छ ।
सेल्फ पार्किङ र डिजिटल की
भारतीय कार निर्माताले ह्यारीयर ईभीमा सेल्फ पार्किङ फिचर दिएको छ । कम्पनीले सानो साइजको स्लिक सर्कुलर सेपमा ‘रिमोट की’ दिएको छ । यसमा सेल्फ पार्किङ सहितको ‘समेन मोड’ पाउन सकिन्छ । साथै यसको किलाई फोनमा सेटअप गरेर डिजिटल ‘की’समेत बनाउन सकिन्छ । यदि, फिजिकल वा डिजिटल की दुवै छुटेमा तेस्रो अप्सनको रूपमा एनएफसी कार्ड पनि प्रयोग गर्न सकिन्छ ।

