काठमाडौं । अटोमोबाइल क्षेत्रमा नयाँ खोज निरन्तर चल्दै आएको छ । विद्युतीय कारको तीव्र विकाससँगै टेक्नोलोजीमा आधारित धेरै कुराको विकास तीव्र गतिमा भइरहेको छ ।
केही वर्ष अगाडि करोडौं मूल्यका कारमा पाइने एडास, क्रुज कन्ट्रोल, ठूलो साइजको ह्वील, डिजिटल स्क्रीन र आरामदायी सिट अहिले सामान्य कारमा नै पाउन थालिएको छ ।
सन् २०२६ मा अटोमोबाइल क्षेत्रमा मुख्यतया इलेक्ट्रीफिकेसन, आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) र अटोनोमस ड्राइभिङमा थप बलियो बन्ने देखिँदैछ । यी काममा कार उत्पादकहरू फोकस रहेको उनिहरूको योजनाले नै प्रस्ट पार्छ । त्यसैले हामीले यहाँ २०२६ मा व्यापक प्रयोगमा आउन सक्ने नयाँ प्रविधिको विषयमा चर्चा गरेका छौं ।
सफ्टवेयर डिफाइन भेहिकल (एसडीभी)
एउटा गाडीको हरेक भागलाई सफ्टवेयरबाट नियन्त्रण गर्ने प्रविधि ‘सफ्टवेयर डिफाइन भेहिकल’मा पाइन्छ । यस टेक्नोलोजीले गाडीको इन्जिन वा मोटर, ब्रेक, स्टेयरिङ, इन्फोटेन्टमेन्ट लगायतका कुरालाई सफ्टवेयरबाट नियन्त्रण गर्न सक्छ ।

साथै, अहिले सीमित कम्पनी र ब्राण्डले प्रयोगमा ल्याएको ‘ओभर दी एयर’ अपडेट पनि सन् २०२६ बाट व्यापक हुने अनुमान गर्न सकिन्छ ।
एआईको नयाँ भर्सनहरूको प्रयोग
अब गाडीमा चालकले दोहोरो संवाद गर्न मिल्ने आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को प्रयोग व्यापक हुने देखिन्छ । गाडीमा प्रयोग हुने यस्ता एआइले ककपिटलाई आफ्नो आवश्यकता अनुसार चलाउन सकिने छ । भ्वाइस असिस्टेन्स र नियमित मर्मत सम्भारमा पनि यसको सहयोग हुनेछ ।
एडासको नयाँ भर्सन र रोबोट्याक्सी
सन् २०२६ मा एडास लेभल थ्री बजारमा व्यापक बन्नेछ । साथै, लेभल फोर एडासको धेरै कुरा सुधार हुने अनुमान छ । यसको प्रयोगसँगै चालकले केही समय आँखा बन्द गरेर गाडी चलाउन सक्ने बताइन्छ । साथै, यसकै सपोर्टमा रोबोट्याक्सीमा पनि ठूलो परिवर्तन आउने प्रक्षेपण भएका छन् ।
हाइब्रिडमा थप अनुषन्धान
विश्वव्यापी हाइब्रिड कारको माग उच्च हुँदै जाँदा यसमा थप खोजहरू हुने अनुमान छ । विशेषगरी ठूला कार निर्माताले सन् २०२६ देखि ३० सम्मको योजना बनाएर हाइब्रिडमा थप खोज गर्ने भएका छन् ।
‘भेहिकल टु एभ्रीथिङ’
भेहिकल टु एभ्रीथिङ कम्युनिकेशन टुल हो । यसको प्रयोगबाट एउटा गाडीबाट अर्को गाडी, ट्राफिक लाइट, रोडसाइड पूर्वाधारसँग सिधा कुरा गर्न मिल्छ । यसको प्रयोगले दुर्घटना कम गर्ने, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जस्ता काम सहज हुन्छ ।

सोलिड स्टेट ब्याट्री
सन् २०२६ मा सोलिड स्टेट ब्याट्री प्रयोगमा आउने छ । जापानी, चिनियाँ, अमेरिकी र अन्य देशका ब्याट्री उत्पादकहरू पनि सोलिड स्टेट ब्याट्रीमा ठूलो लगानीको लागि तयार छन् । अबको एक वर्षमा नयाँ ब्याट्री टेक्नोलोजीमा पनि ठूलो सफलता हात लाग्नेछ ।
कनेक्टेड ककपिट
गाडी निर्माताले कनेक्टेड ककपिटको अवधारणामा कुरा गर्न थालेको धेरै भइसक्यो । उनीहरूले पानारोमिक हेडअप डिस्प्ले, मल्टी स्क्रीन ड्यासबोर्ड, माइक्रो एलईडी हेडलाइट, इलुमुनेटेड ग्रिल जस्ता प्रयोगलाई व्यापक बनाउने छन् ।

