काठमाडौं । धेरै दुईपाङ्ग्रे सवारीसाधन बिक्री हुने समयमै इन्टरनल कम्वश्चन इन्जिन भएका दुई पाङ्ग्रेको.आयात ७ हजार यूनिटभन्दा पनि कम भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनामा केबल ६ हजार ६९९ यूनिट दुई पाङ्ग्रे सवारीसाधन आयात भएको हो ।
कार्तिक महिनामा हिन्दुहरुको चाडपर्वहरु दशैं, तिहार र छठ पर्व थिए । विगतमा एक वर्ष बिक्री हुने कुल बिक्रीको ४० प्रतिशत चाडपर्वको समयमा बिक्री हुन्थ्यो । तर, यस पटकको आयात निकै निरासाजनक रह्यो ।
लगातार ओरालो लागेको दुई पाङ्ग्रे बजारले फेस्टिभ सिजनमा समेत लय लिन नसकेको हो । चालु आवको पहिलो ४ महिनामा कुल ४८ हजार ८०७ यूनिट दुई पाङग्रे आयात भएकोमा कार्तिक महिनामा औषतभन्दा केही कम आयात भएको हो ।
त्यस्तै इलेक्ट्रीक दुईपाङ्ग्रे सवारीसाधनको ब्रान्ड धमाधम भित्रिरहेको अवस्थामा चालु आवको चौथो महिना पुग्दा आयातमा केही सुधार देखिएको छ । तीन महिनामा १ हजार ३७१ यूनिट दुईपाँग्रे विद्युतीय सवारीसाधन आयात भएकोमा चौथो महिनामा मात्रै ७२९ यूनिट स्कुटर आयात भएको देखिन्छ ।
पछिल्लो समय लगातार चीनबाट आउने स्कुटरको संख्या बढ्दो थियो । तर, एथर इनर्जीका उत्पादन नेपाल भित्रिएसँगै भारतबाट आउने इलेक्ट्रीक स्कुटरको संख्या बढेको देखिन्छ ।
कार्तिक महिनामा मात्रै भारतबाट ३८० यूनिट विद्युतीय स्कुटर आयात भएको हो । यस अवधिमा चीनबाट ३४९ यूनिट आयात भएको तथ्यांकमा उल्लेख छ ।

