काठमाडौं । विद्युतीय सवारी (ईभी)को सबैभन्दा महत्वपूर्ण पार्टस भनेको यसको ब्याट्री हो । सवारी साधनको साइज अनुसार यसको क्षमता पनि फरक हुन्छ ।
ब्याट्री ईभीको सबैभन्दा महँगो पार्टस समेत हो । ईभीको ब्याट्रीको मूल्य मात्रै सवारीको मूल्यको झण्डै आधासम्म पर्ने हुन्छ । त्यसैले ब्याट्रीको राम्रो हेरचार गर्न आवश्यक छ ।
हामीले दैनिक जसो गर्ने सामान्य गल्तीले ब्याट्रीमा चाँडै समस्या आउन सक्छ । जसकारण छाटो समयमै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ ।
यहाँ हामीले दुइपाँग्रे विद्युतीय सवारीको ब्याट्रीको आयु लामो कसरी बनाउन सकिन्छ भन्ने बारेमा चर्चा गरेका छौं ।
१. स्मार्ट तरिकाले चार्ज गर्ने : धेरै जसो बिक्रेता कम्पनीको म्युनअलमै कसरी चार्ज गर्ने भन्ने बारेमा लेखिएको हुन्छ । हामीलाई कतिपय बिक्रेताहरुले ब्याट्री ड्रेन हुने गरी नचलाउँन सुझाव दिने गर्छन । तर, १०० प्रतिशत चार्ज नगर्न भने सुझाव दिँदैनन् ।
धेरै नेपालीमा १०० प्रतिशत नै चार्ज गर्नुपर्छ भन्ने मान्यता पाइन्छ । तर हामीले २० प्रतिशत चार्जमा आएसँगै यसलाई चाज गर्ने र ८० प्रतिशत भएसँगै चार्ज बन्द गर्ने गर्नु पर्छ । जब हामीले ८० प्रतिशतदेखि १०० प्रतिशत चार्ज गर्न खोज्छौं, त्यसले समय धेरै लिने मात्र होइन ब्याट्री सेलमा धेरै स्ट्रेस पैदा गर्छ । र, ब्याट्रीको आयु घटाउँछ ।
२. ओइएम चार्जरको प्रयोग गर्ने : हामीले जहिले पनि ओइएम (ओरिजिनल इक्यूप्मेन्ट म्यानुफ्याक्चर)ले बनाएको चार्जर मात्र प्रयोग गुर्न पर्छ । कम्पनीले नै तयार पारेको चार्जर र ब्याट्रीमा भएको बीएमएस सिस्टम क्यालिब्रेट गराइएको हुन्छ । यसले ब्याट्री सेलमा स्टे«स बिना नै स्मुथ चार्ज गर्छ । तर, जुन पायो त्यही चार्जरको प्रयोग गर्नाले ब्याट्रीमा नकारात्मक प्रभाव पार्ने हुन्छ ।
३. तापक्रम ध्यान दिनुहोस् : ब्याट्री त्यस्तो कम्पोनेन्ट हो, जसले धेरै तातो र चिसो सहन सक्दैन । त्यसैले ब्याट्रीको तापक्रम कन्ट्रोल गर्नु ठूलो चुनौती मानिन्छ । यदि हामी धेरै चिसो वा तातो वातावरणमा छौं भने इनडोरमा पार्किङ गर्नुपर्छ । सकेसम्म चार्ज पनि इनडोरमा राखेर गर्नुपर्छ । सवारी गुडेर आउने बित्तिकै चार्जमा राख्नु हुँदैन । केही समय पार्क गरेपछि मात्र चार्ज गर्दा ब्याट्रीको आयु बढ्न जान्छ ।
४. समयमै अपडेट गर्ने : आजकलको इलेक्ट्रीक सवारी साधन निकै एड्भान्स भइसकेका छन् । यस्तोमा मोटरसाइकल तथा स्कुटरमा आउने सफ्टवेयर अपडेटलाई समयमै अपडेट गर्नु जरुरी हुन्छ ।
५. स्मुथ राइडिङ स्टाइल : हार्ड एसेलेरेसन र लगातार हाइस्पीडमा चलाउँदा पनि ब्याट्रीमा धेरै स्ट्रेस पर्न जान्छ । इलेक्ट्रीक सवारी साधनमा जहिले पनि स्मुथ राइड गर्दा यसले दिने रेन्ज मात्र होइन ब्याट्रीको लाइफ पनि बढ्न जान्छ ।
६. कनेक्टर सफा गर्ने : यदि तपाईको स्कुटरको ब्याट्री निकालेर चार्ज गनुपर्ने खालको छ भने यसको कनेक्टर बेला बेलामा सफा गर्नु पर्छ । कनेक्टरमा फोहोर जमेर बस्दा पनि सर्ट सर्किट हुन सक्ने सम्भावना हुन्छ ।
ब्याट्री केयर गर्नु कुनै रकेट साइन्स होइन । हामीले दैनिक गर्ने गल्तीलाई सुधार्ने हो । अनुशासित भएर चलाउने हो भने ब्याट्री लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

