एयरपोर्ट भित्र नयाँ पार्किङ शुल्क लागू, एक दिन पार्किङ गर्दा ३ हजारसम्म

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र नयाँ पार्किङ शुल्क लागू भएको छ । पार्किङको ठेक्का पाएको आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले मंसिर १ गतेदेखि लागू हुने गरी विमानस्थलभित्र पार्किङ गर्दा लाग्ने नयाँ शुल्क तोकेको हो ।

कम्पनीले निर्धारण गरेको नयाँ शुल्क अनुसार मोटरसाइकल/स्कुटर जस्ता दुईपाँग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ शुल्क तिर्नुपर्ने छ । यस्तै, दुई पाँग्रे सवारीसाधन दिनभर पार्किङ गर्दा ६०० रुपैयाँ तिर्नु पर्नेछ ।

त्यसैगरी कार, जिप, टेम्पो लिमोजिन जस्ता सवारी साधनहरुका लागि प्रतिघण्टा ५० रुपैयाँ पार्किङ शुल्क तोकिएको छ । यस्ता सवारीसाधन दिनभर पार्किङ गरेमा १ हजार २०० रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै, बस, ट्रक जस्ता ठूला सवारीसाधनले प्रतिघण्टा १२५ रुपैयाँ र प्रतिदिन ३ हजार रुपैयाँ पार्किङ शुल्क बुझाउनु पर्नेछ । त्यस्तै हलुका सवारी साधन जस्तै मिनीबस, माइक्रो जस्ता सावरी साधन पार्किङ गर्दा प्रतिघण्टा ७५ रुपैयाँ र प्रतिदिन १ हजार ८०० रुपैयाँ बुझाउनु पर्नेछ ।


Back_to_top