काठमाडौं । ‘हाइ पर्फमेन्स’ स्कुटर एथर 450x को नेपालमा बुकिङ खुल्ला भएको छ । बैद्य इनर्जीले 450x आगामी नोभेम्बर ५ पछि ग्राहकलाई डेलिभरी दिने तयारी अनुसार बुकिङ खुल्ला गरेको हो ।
‘हामीले स्कुटरको बुकिङ खुल्ला गरेका छौं । ग्राहकले स्कुटर टेष्ट ड्राइभ पनि गर्न सक्नेछन्’, बैद्य इनर्जीका सीईओ सूयान्स बैद्यले भने ।
भारतमा निकै सफल मानिएको फ्ल्यागशिप मोडल 450x नेपालमा बिक्री सुरु हुन लागेको हो । कम्पनीले यसलाई दुई फरक ब्याट्री अप्सनमा नेपाल ल्याउने छ । सुरुवाती मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकेर बुकिङ खुल्ला गरिएको ४५० एक्समा २.९ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।
त्यसैगरी कम्पनीले ४ लाख २० हजार रुपैयाँ मूल्य निर्धारण गरेको भेरियन्टमा भने ३.७ किलोवाट आवरको ब्याट्री छ । ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसारको भर्सन छनोट गरेर खरिद गर्न सक्नेछन् ।
एथर 450x अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटरदेखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।
बैद्यज् अर्गनाइजेशन अन्तर्गतको बैद्य इनर्जीले चार्जिङ पूर्वाधार निर्माण र ग्राहकलाई धेरैभन्दा धेरै स्थानबाट सेवा प्रदान गर्ने योजना अनुसार काम भइरहेको जनाएको छ ।

